राजनीतिक संयन्त्रको संकट बैठक दलहरुकिन गएनन्

247 Shares

काठमाडौं- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा साझेदार तीन दल अनुपस्थित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनमा आवद्ध तीन दल अनुपस्थित भएका हुन्।

गठबन्धनमा सात दल आवद्ध छन्। तर, बैठकमा चार दलका नेतामात्र सहभागी छन्।

गठबन्धनका घटक दल जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही पनि नेता बैठकमा सहभागी भएनन्।

जसपा संसदीय दलका नेता रामसहाय यादवले पार्टी अध्यक्ष उपेन्द्र यादव जनकपुरमा रहेको बताए।

‘संयन्त्रको बैठकबारे मलाई जानकारी भएन। म भख्खर बाहिरबाट आउँदै छु,’ यादवले आयोमेलसँग भने,‘अध्यक्षजी जनकपुरमा हुनुहुन्छ।’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पनि संयन्त्रको बैठकमा अनुपस्थित भएकी छन्।

उनले बैठक बोलाइएको भनेर आफू बिर्सिएको बताएकी छन्।

‘खबर त आएको थियो तर मिस भयो,’ आयोमेलसँग चौधरीले भनिन्,‘बिहान ८ बजेदेखि म डिल्ली बजारमा थिएँ, बैठक छ भनेर बिर्सिएको छु।’

चौधरी पार्टीका संरक्षकसमेत रहेका आफ्ना पति रेशम चौधरीसित भेटवार्ता गर्न डिल्ली बजार कारागार पुगेको बताइएको छ।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत अहिले काठमाडौं बाहिर रहेको यो पार्टीका एक नेताले जानकारी दिए।

बैठकमा संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र उपप्रधान एवं ऊर्जामन्त्रीसमेत रहेका राजेन्द्र लिङ्गदेन सहभागी छन्।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ।

पछिल्लो समय सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको छ।