पाहलगाम नरसंहारको आक्रोश: काठमाडौंमा पाकिस्तानी दूतावासविरुद्ध कडा प्रदर्शन
काठमाडौं। भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा २८ जनाको ज्यान लिने आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको दाबी भइरहँदा काठमाडौंस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन भएको छ।
‘नेपाल नागरिक अभियान’ नामक संस्थाले शनिबार दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो। पाकिस्तानले आतंकवादलाई समर्थन गरेको र पाहलगाम हमलामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको आरोप लगाउँदै प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले पाकिस्तानी सेनाप्रमुख जनरल असीम मुनीरको तस्बिरमा जुत्ता प्रहार गरेका थिए।
गत मङ्गलबार पाहलगाममा पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएको थियो।
यो हमलापछि भारतले पाकिस्तानलाई दोषी ठहर गर्दै आएको छ, तर पाकिस्तानले यस्ता आरोपहरू अस्वीकार गरेको छ। पाहलगाम हमलाले भारत र पाकिस्तानबीचको तनाव चरम बिन्दुमा पुगेको छ।




