जनकपुरधाममा आतंकवाद र पाकिस्तानी सेना प्रमुखविरुद्ध प्रदर्शन, पुत्ला दहन
जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आतंकवाद, पाकिस्तानी सेना प्रमुख र पाकिस्तानविरुद्ध प्रदर्शन भएको छ। नेपाल–भारत खुला सिमाना संवाद समूह र शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आतंकवादीहरूले हिन्दुहरूलाई लक्षित गरी गोली प्रहार गरेको, पाकिस्तानी सेना प्रमुखले हिन्दु–मुस्लिम द्वन्द्व भड्काउने अभिव्यक्ति दिएको र त्यसपछि यस्तो घटना भएको भन्दै पाकिस्तान र तिनका सेना प्रमुखविरुद्ध नाराबाजी गरे। प्रदर्शनकारीहरूले पाकिस्तानी सेना प्रमुखको पुत्ला पनि जलाए।
प्रदर्शनको नेतृत्व गरेका संवाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले पाकिस्तानी सेना प्रमुखको गैरजिम्मेवार र धार्मिक द्वन्द्व भड्काउने अभिव्यक्तिपछि भएको घटनामा हिन्दुहरूलाई छानेर मारिएको दाबी गरे। उनले यही कारण प्रदर्शन पाकिस्तान र तिनका सेना प्रमुखविरुद्ध केन्द्रित रहेको बताए।

प्रदर्शनमा सहभागीहरूले आतंकवाद कसैका लागि पनि हितकर नभएको भन्दै यसविरुद्ध सबै एकजुट हुनुपर्ने र आतंकवादीलाई साथ दिनेहरूको विरोध गर्नुपर्ने बताए। उनीहरूले आतंकवादका कारण नेपालका सपूतहरूको अनाहकमा ज्यान गएको भन्दै आक्रोश व्यक्त गरे। प्रदर्शनमा मुस्लिम समुदायका अगुवा र युवाहरूको पनि सहभागिता थियो। उनीहरूले आतंकवादको निन्दा गर्दै आतंकवादीलाई प्रश्रय दिनेहरूविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताए।
प्रदर्शनमा विभिन्न ठाउँबाट आएका युवाहरूले कश्मीरको पहलगाममा मारिएका नेपाली सन्दीप न्यौपानेको न्याय र क्षतिपूर्तिको माग गर्दै आतंकवादविरुद्ध सहभागिता जनाएका थिए।

