कांग्रेस सहमत भए माधव नेपाल राष्ट्रपति नभए एक वर्ष सरकारको नेतृत्व दिने तयारी

288 Shares

काठमाडौं । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शिर्ष नेताको बैठकले पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चार दलसहित राष्ट्रिय जनमोर्चालाई पनि समावेश गरेर पुरानो गठबन्धन कायमै राख्ने निर्णय गरेको छ ।

आजै साँझ ५ बजे अर्को बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिका विषयमा दलले अघि सारेका उम्मेद्वारको बिषयमा पनि छलफल भएको छ । बैठकमा कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो भने एकीकृत समाजवादीले माधवकुमार नेपाललाई राष्ट्रपति उमेदवार बनाउन प्रस्ताव गरेका थिए ।

नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको दाबी रहेको छ । एकीकृत समाजवादीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । कांग्रेसले नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी प्रस्ताव लगेको स्रोतले जानकारी दियो । दुई उम्मेदवारको औचित्य र आवश्यकतासहित दलहरुबीच समझदारीको योजनासमेत लिएर पाँच बजे पुनः बैठक बस्नेगरी बैठक स्थगित भएको छ ।

चार दलको बैठकमा कांग्रेसले राष्ट्रपति पद आफैले पाउनुपर्ने अडान राखेको छ । सत्तारुढ दल माओवादीसहित जसपा र एकीकृत समाजवादी पार्टीसँगको बालुवाटारमा बसेको बैठकमा कांग्रेसले आफ्नै उम्मेदवारलाई सघाउने प्रस्तावमा अडान दोहोर्‍याएको हो ।

राष्ट्रपति निर्वाचनको संघारमा समाजवादी मोर्चा बनाउने गृहकार्य गरिरहेका माओवादी, एकीकृत समाजवादी र जसपाले माधवकुमार नेपालको नाम अघि सार्दा कांग्रेसले भने आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव राखेको हो । राष्ट्रपतिमा आफूलाई सघाएमा नेपाललाई सत्ता समीकरणका अन्य भागबन्डामा ठाउँ दिने कांग्रेसको प्रस्ताव गरेको छ ।

कांग्रेस सहमत भए राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बनाउने, सहमत नभए उनलाई एक वर्ष सरकारको नेतृत्व दिने गरी मनाउने तयारीमा दलहरू रहेका छन् । उपराष्ट्रपति भने जसपालाई दिने कुरामा माओवादी र एकीकृत समाजवादी पार्टी एकठाउँमा रहेका छन् ।

बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससहित चार दल छलफलमा बसेको थियो । त्यसो त बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चुनावअघिको सत्तागठबन्धन ब्यूँताउने अनौपचारिक सहमति बनेको थियो । आजको बैठक त्यसैको निरन्तता भएको नेताहरूले बताएका छन् ।