बागमती प्रदेशमा सरकार छोडने एमालेको तयारी

232 Shares

काठमाडौं– बागमती प्रदेशका ४ मन्त्रीले राजिनामा दिने भएका छन्। नेकपा एमालेबाट मन्त्री बनेका चार जनाले सरकार छाड्न लागेका हुन्।

पुस १० गते बनेको एमाले–माओवादी गठबन्धन टुटेपछि एमालेका मन्त्रीले सरकार छाड्ने भएका हुन्। यसअघि राप्रपाका मन्त्रीले समेत सरकार छाडेका थिए। एमालेले सरकार छाडेपछि कांग्रेस सरकारमा जाने बुझिएको छ।

सरकार गठनका लागि गत पुस १० गते भएको एमाले र माओवादी केन्द्र बिच भएको राजनीतिक सहमति एकतर्फी रूपमा माओवादी केन्द्रले तोडेको एमालेको आरोप छ । एमालेले अहिलेसम्म सरकारमा रहेर गरेका कामहरू जनतालाई बुझाउनका लागि सरकारमा बसिरहेपनि उक्त अवसर नदिनका लागि मुख्यमन्त्री जम्कट्टेलले एकतर्फी ढङ्गबाट अघि बढ्दा समस्या भएको उनले बताए । उनले बुधबारको बैठक स्थगित भएको प्रति असन्तुष्टि व्यक्त गर्दै शुक्रबारको बैठकमा एमालेका सबै सांसदहरू भने उपस्थित नहुने बताए । एमालेका सीमित सांसद र मन्त्रीहरू मात्रै बैठकमा सहभागी हुने उनले बताए ।

‘वर्तमान राजनीतिक समीकरण र परिस्थितिमा एमाले सरकारमा बसिरहन मिल्दैन । शुक्रबारको प्रदेशसभा बैठकमा हामी उपस्थित भएर हाम्रा धारणा राख्दै सरकारबाट बाहिरिन्छौ । एमालेलाई अलग गरेर माओवादी केन्द्रले फरक समीकरण बनाएर अघि बढेको देख्दा देख्दै हामी सरकारमा बसिरहन मिल्दैन । हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ ।’ उनले भने, ‘पार्टीको ग्रासरुट कार्यक्रम पनि रहेकाले हामीले बैठक सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएका थियौ । तर, मुख्यमन्त्रीले एकतर्फी ढङ्गबाट अघि बढ्नु भयो । पहिलेदेखि नै उहाँले एकतर्फी रूपमा लैजानु भएको थियो । हाम्रा मन्त्रीहरू उपस्थित हुनुहुन्छ । सबै सांसदहरू उपस्थित नहुन पनि सक्नुहुन्छ ।’

मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक इमानदारिता नदेखाउँदा सत्ता समीकरणका दलहरू बिच पनि असमझदारी पैदा भएकोले बुधबारको बैठक बस्न नसकेको उनले बताए । प्रमुख सचेतक पौडेलका अनुसार एमालेले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने तयारी गरेका छ । मुख्यमन्त्रीले गठबन्धन दलहरू बिच छलफल नै नगरी एकतर्फी रूपमा अघि बढ्दा पटक पटक समस्या हुँदै आएकाले विश्वासको मतको विपक्षमा मतदान गर्ने एमालेको तयारी रहेको उनको भनाइ छ ।