रवि लामिछानेको जीवनमा दुई अंकको अनौठो संयोग
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले विवादमा तानिएका छन् ।
उनकै नाम लिएर रास्वपाका सांसद ढाकाराम श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि रवि पनि विवादमा तानिएका हुन् । श्रेष्ठले रवि सरलाई भनेर नाम उच्चारण गरेका छन् ।
स्वास्थ्यमन्त्री बन्न भन्दै रविको नाम लिने श्रेष्ठलाई रास्वपाले कारबाही गरेको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । रवि दुईवटा नागरिकता र राहदानी भएका व्यक्ति हुन् । दुईवटा नागरिकता कसुरमा उनको सांसद पद नै खारेज भएको थियो ।
दुईवटा राहदानीसम्बन्धी कसुर व्यवस्थापन गर्न उनी सफल देखिएका छन् । रविका औपचारिक रूपमा दुईवटी श्रीमती छन् । एउटा नेपाल र अर्को अमेरिकामा । त्यसबाहेक उनका अन्य दुईवटी प्रेमिका रहेको पनि सार्वजनिक भइसकेको छ ।
रवि लामिछाने चितवन २ बाट उम्मेदवार बनेका थिए । तर नागरिकता प्रकरणले उनको सांसद पद गुमेपछि त्यहाँ अहिले पनि दोस्रोपटक निर्वाचन हुँदैछ । तर यसपटक भने उनलाई चुनाव जित्न निकै उकालो पर्ने देखिएको छ ।
रविले शनिबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो विरोध गर्नेलाई जेलमा कोच्ने चेतावनी दिएका थिए । उनले आफ्नो पार्टीलाई भ्रष्टाचारीको आरोप लगाउनेलाई जवाफ दिने होइन, सिधै जेल हाल्ने घोषणा गरेका थिए ।
तर आइतबारको अडियो टेप काण्डले उनको पार्टी कतिसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेको रहेछ भन्ने आमजनताले थाहा पाएका छन् । पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनी एमाले, रास्वपा, राप्रपाको गठबन्धनमा प्रधानमन्त्री बन्न सफल भएका थिए । सो सरकारमा गृह, शिक्षा, स्वास्थ्य मन्त्रालय रास्वपाको भागमा परेको थियो । स्वास्थ्य मन्त्री भने कोही पनि नियुक्त भइसकेका थिएनन् ।
रास्वपाबाट डा.चन्दा कार्की, डा.तोसिमा कार्की र ढाकाकुमार श्रेष्ठको चर्चा थियो । तीनजनामध्ये एकजना मन्त्री बन्ने पक्का थियो । त्यही बेला श्रेष्ठले मेडिकल माफिया दुर्गा प्रसाईसँग दुईदेखि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै बार्गेनिङ गरेको सुनिन्छ ।
कतिसम्म भने उनले दुई करोड रविको कोर टिमलाई बुझाउने भनेका छन् । त्यो कोर टिममा उपसभापति डिपी अर्याल र दीपक बोहोरा भएको सबैलाई थाहा छ । त्यसैले अबको छानबिन अर्याल र बोहोरामाथि पनि हुन सक्ने देखिएको छ ।

