गठबन्धन ५ बर्ष चल्ने ढुक्क

234 Shares

काठमाडौं । अहिले नेपाली राजनीतिको बजारमा १० वैशाखको उपनिर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फेरिने हल्ला चर्को गरी सुनिएको छ ।

खासगरी विपक्षी दल एमाले र राप्रपाका नेताहरुले ठलो स्वरमा सरकार ढल्ने दाबी गरिरहेका छन् । सत्ता गठबन्धनभित्र राम्रो भाग नपाएर असन्तुष्ट चित्रबहादुर केसी र रोजेको मन्त्रालय नपाएर हालै सरकारबाट बाहिरिएका सीके राउतले पनि सरकार धेरै नटिक्ने भनेर अफवाह फैलाइरहेका छन् ।

विपक्षी तथा असन्तुष्टहरुले उपनिर्वाचनपछि सरकारको नेतृत्व फेरिने र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा चर्कोगरी चलाएका बेला यो गठबन्धनमा फाँटो ल्याउने हल्लामात्रै भएको खुलेको छ ।

शनिबार बालुवाटारमा बसेको कांग्रेस सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्मिलित शीर्ष तहको बैठकमा यी हल्लाको प्रतिवाद गर्ने निर्णय भएको छ । प्रतिवाद गर्न कार्यकर्ता पंक्तिलाई निर्देशनसमेत दिइने समझदारी छ ।

मन्त्रीहरुसमेत सहभागी बैठकमा कांग्रेस सभापति देउवाले गठबन्धन सरकार पाँचै वर्ष समझदारीमा चल्ने स्पष्ट पारेका थिए । उनले सरकारको नेतृत्व फेरिने भनेर विपक्षीबाट हल्ला चलाइएको भन्दै यो गठबन्धनमा फाटो र अविश्वास बढाउने प्रयासस्वरुपको चाल भएकाले हल्लाको पछि नलाग्न प्रधानमन्त्री दाहाल र नेता माधव नेपाललाई अनुरोध गरेका थिए । कांग्रेस गठबन्धनको सहमतिबाट दायाँबायाँ नहुने उनको भनाइ थियो । तीन नेताबीच उपनिर्वाचनअघि नै मन्त्रिमण्डल विस्तार गर्नेबारे पनि छलफल भएको थियो ।

त्यसो त देउवालाई पार्टीभित्रबाट आफ्नै नेतृत्वमा सरकार बनाउन सुझाव आएपछि गठबन्धनलाई टिकाएर अघि बढ्ने दृढता व्यक्त गर्दै आएका छन् । ‘ओलीले दुख दिएको बिर्सिनुहुन्न । ओलीको केही भर छैन । गठबन्धनमा भएको सहमतिअनुसार अघि बढ्नुपर्छ । सहमतिअनुसार प्रचण्डजीले आफ्नो कार्यकाल पूरा गर्नुहुन्छ । यसमा दायाँबायाँ हुन्न । अहिले हतारिनुहुन्न । यसले पार्टी र देशलाई नै हित गर्दैन,’ देउवाको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने । वर्तमान सरकार र गठबन्धनलाई निरन्तरता दिन देउवा दृढ रहेको र प्रचण्डलाई निरन्तरता दिने पक्षमा रहेको आफूले पाएको उनको भनाइ छ ।