बारा-२ पनि उपेन्द्रका लागि रेड जोन

265 Shares

काठमाडौं- सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव बारा-२ मा रेड जोडमा रहेका छन्। यसअघि नेकपा एमालेको समर्थन पाउँदा पनि गृहजिल्ला सप्तरीको क्षेत्र नम्बर २ बाट पराजित भएका यादव बारा-२ मा सरक्षित देखेर वैशाख १० मा हुने उपचुनावमा होमिएका हुन्।

बारा-२ का गाउँ-टोलमा चुनावी सभा गरिरहेका उपेन्द्र यादव घर घर धाइरहेका छन्। यसअघि मधेसमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादव अहिले बारा-२ बाट निर्वाचित हुने दाउमा रहेका छन्।

बारा-२ को चुनावी माहोल हेर्दा पनि उनी रेड जोनमै देखिन्छन्। जसपा अध्यक्ष यादवलाई जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहाले उम्मेदवारी दिएका छन्। उनी यसअघि जसपाका उम्मेदवार रामसहाय यादवसँग ३०० मतले पराजित भएका थिए।

रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो। उपेन्द्रलाई जिल्ला बाहिरको उम्मेदवार भएको, चुनाव हार्दा पनि पाँच वर्ष कुर्न नसकेको र शक्ति र सत्तामा पुग्‍दा मधेसका मुद्दाहरुलाई सम्बोधन गर्न नसकेकोजस्ता आरोपहरु लाग्‍ने गरेका छन्।

बारा-२ मा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। यसैगरी, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट मुक्ति यादव, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनेलाल यादव तेलीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, विनोदकुमार कर्ण, ध्रुवलाल हजरा लगायत १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जसपा अध्यक्ष यादवलाई पराजित गर्न जनमतका अध्यक्ष सिके राउत बारामा खटिरहेका छन्। बारा-२ मा पहाडीया मतहरु खरेललाई गए पनि यसअघि जनमत पार्टीका उम्मेदवार कुशुवाहले प्राप्त गरेको मतमा नयाँ विकल्प खोज्‍ने मतहरु पनि जोडिँदा उनका लागि जित सहज हुने आँकलन गरिएको छ।