बारामा मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय
बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने अन्तिम तयारी गरिएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकले गणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना शैक्षिक तालिम केन्द्रमा हुँदै छ ।
यहाँ सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।
हाल उम्मेदवारहरूको प्रतिनिधिका लागि परिचयपत्र बनाउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । सोमबार बिहानदेखि नै गणनास्थलमा नेता कार्यकर्ताको आवतजावत बढेको छ । साथै गणनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बारा २ मा यस उपनिर्वाचनमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गणनाको क्रममा प्रत्येक उम्मेदवारको तर्फबाट एक/एक जना प्रतिनिधि राख्ने सहमति भएको छ ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख चौधरीका अनुसार पचरौता र महागढीमाई नगरपालिका, करैयामाई, देवताल र सुवर्ण गाउँपालिका गरी ५ पालिकाको १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा त्यसको ६५ प्रतिशत अर्थात ६८ हजार ८ सय ८६ मत खसेको छ । गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

