लाल्छना पन्छाउँदै समाजसेवा तथा संगठन विस्तारमा सक्रिय आरजु राणा, कार्यकर्तामा उर्जा भर्दै
काठमाडौं । जब जब पार्टी संकटमा पर्छ दोष थुपार्ने पात्र बनाइन्छ कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई । पार्टीभित्रकै केही र बाहिरी समाजले आरजुमाथि लाल्छना नै लगाउँछ । तर त्यस्ता लाल्छना पन्छाउँदै थप उच्च मनोबलका साथ आरजु फिल्डमा खटिएर परिणामबाट जवाफ दिन्छिन् । कसैले टिकट नपाएको त कसैले अवसर पाएको विषयमा समेत आरजुलाई मुछेर विवादमा ल्याउने प्रवृत्ति नै बनिसकेको छ । त्यसलाई चिर्दै आरजु कार्यकर्ता र मतदातामाझ सक्रिय हुने गरेकी हुन् । जब पार्टी संकटमा परेर आलोचनाको केन्द्रमा आफूलाई पारिएको हुन्छ, त्यतिबेला आरजु कार्यकर्ता र मतदातामा उर्जा भर्नतिर लाग्छिन् । गाउँ गाउँ पुगेर एउटा जागरण ल्याउँछिन् । जहाँ आरजु गयो त्यहाँ नेता कार्यकर्ताको भीड लाग्छ । पछिल्लो समय उपनिर्वाचनमा कांग्रेस पराजित भएपछि आरजुलाई समेत जोडेर आलोचना गरियो । तर त्यतिबेला आरजु सुदूरपश्चिममा संगठन विस्तार तथा सामाजिक सेवाका काममा व्यस्त थिइन् । सदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा केन्द्रित थिइन् । सामाजिक गतिविधिमा पनि उतिकै सहभागिता रह्यो । जतिसुकै आलोचना भए पनि कामबाट जवाफ दिने आरजुको कार्यशैली हो । आरजु अहिले सुदूरपश्चिमसहित देशका विभिन्न भागमा संगठन विस्तार, पर्यटन विकास तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाइरहेकी छन् । खासगरी सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्र बनाउन कुटनीतिक पहल समेत गरिरहेकी छन् ।
आरजुले महिलाको आर्थिक सशक्तिकरणका लागि आवाज उठाइरहेकी छन् । समुदायमा महिलाहरुको पहुँच अभिवृद्धिको लागि आर्थिक सशक्तिकरण मुलक कार्यहरु अगाडि बढाउन प्रदेश सरकारसँग समन्वयको वातावरण बनाइरहेकी छन् ।
त्यसैगरी विकास निर्माणका काममा सहजीकरण गर्ने, पहल गर्ने भूमिका पनि आरजुको रहँदै आएको छ । केही दिनअघिमात्रै आरजुले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग आफ्नो पहलमा निर्माण भएका विभिन्न संरचनाहरुको उदघाटनसमेत गरेकी छन् ।
हालै धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा प्रमुख अतिथिका रुपमा आरजुले महत्त्वपूर्ण सुझावहरु प्रस्तुत गरेकी थिइन् । आरजु पछिल्लो समय काठमाडौंभन्दा फिल्डमा देखिने गरेकी छन् । पार्टीका नेताहरु काठमाडौंमा बसेर सच्चिने कि सक्किने भनेर आरोप प्रत्यारोपमा उत्रिरहेका बेला आरजु फिल्डमा मतदातामाझ हिडिरहेकी छन् ।
आरजुको सक्रियताले खासगरी महिला कार्यकर्तामा उत्साहको माहोल बनेको छ । आरजुले पनि सबै हिसाबले समाजमा महिलाको बलियो उपस्थितिको वकालत गर्दै आएकी छन् । पुरुष प्रधान राजनीतिमा आलोचनाको तारो बनाइने गरेकी आरजु त्यसलाई चुनौती दिँदै निरन्तर महिला जागरणमा अगाडि बढेकी छन् । प्रदेशसभा सदस्य रक्षा महरा भन्छिन्, आरजु भाउजुको सक्रियताले हामीलाई उर्जा दिन्छ । संगठनमा महिला दिदीबहिनीहरु पनि उत्साहित हुनुहुन्छ । उहाँ हाम्रो लागि प्रेरणाको स्रोत हो ।’

