सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, शीर्ष नेतालाई आजै प्रतिवेदन बुझाइने

335 Shares

काठमाडौंः सत्ता गठबन्धनभित्र सिट भागबण्डा गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलको बैठक आज बस्दै छ। कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले साँझ ६ बजे बैठक बस्‍ने जानकारी दिए।

सोमबार दिनभर बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि मंगलबार पुनः बैठक बस्ने भएको हो। मंगलबार सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो।  संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर मंगलबारै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए। गठबन्धनभित्र सिट बाँडफाँट गर्न सकस देखिएको छ। गठबन्धनका दलले अडान नछाड्दा बागबण्डा मिलाउन समय लागि रहेको छ।