नेपालगञ्जको मुख्य पाँच चोकमा अब ‘अत्याधुनिक ट्राफिक लाइट’

230 Shares

बाँके । बाँके नेपालगञ्जका पाँच वटा मुख्य चोकहरुमा अब ‘अत्याधुनिक ट्राफिक लाइट’ लाग्ने भएको छ । सडक विभागले सुर्खेतरोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट लगाउन थालेको हो । पाँचै ठाउँमा एक महिनाभित्रै जडान कार्य सम्पन्न हुने गरी काम सुरु भएको छ । गणेशमान चोकबाट काम थालिएको छ । सुरुमा तार विछ्याउने काम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध एवम् तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईको विशेष पहलमा सडक विभागद्वारा सुर्खेत रोडको मुख्य पाँच चोकमा ट्राफिक लाइट जडान हुने नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । विष्टले आवागमन बढी हुने यी ब्यस्त चोकहरुमा ट्राफिक लाइट लगाएपछि ट्राफिक व्यवस्थापन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सुर्खेतरोडमा पछिल्लो समय दुर्घटना बढ्दै गएको भन्दै प्रमुख प्रशान्त विष्टले दुर्घटनाको जोखिम न्यूनीकरणमा पनि यसले सहयोग पुर्याउने बताउनुभयो । सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनमा ट्राफिक लाइट जडानको काम भइरहेको बताउँदै सडक डिभिजनको कार्य क्षेत्र परेकाले आफूहरुले सहजीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँले एक ठाउँको काम सकिएपछि मात्रै अर्को ठाउँमा काम थाल्ने बताउनुभयो । शाक्यले असार मसान्तसम्म पाँचै ठाउँको काम सकिने जानकारी दिनुभयो ।