विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्ता तथा अद्यावधिकको लागि सुझाव सङ्कलन शुरु

277 Shares

निर्वाचन आयोगले विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मसौदा तयार भई सुझाव सङ्कलन शुरु गरेको छ ।
सुझाव संकलनको लागि आयोगको वेवसाइट www.election.gov.np मा अपलोड गरिएको छ । उक्त मसौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था रहेको छ । दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था रहेको छ ।
विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणाली मार्फत फारम भरी जैविक ९बायोमेट्रिक० विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा रहेको छ । यसरी दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लाने व्यवस्था रहेको छ ।
मसौदामा रहेका उक्त व्यवस्था लगायतका अन्य विषयहरू थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूलेमिति २०८० कार्तिक मसान्त भित्र आयोगको इमेलमा राय सुझाव उपलब्ध गराउन सबैमा आयोग अनुरोध गरेको छ ।