मुस्ताङमा गुम्बा र स्कुलको आवासीय भवन बनाउन भारत सरकारको ६ करोड ९७ लाख सहयोग

323 Shares

जोमसोम । भारतीय दूतावासले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत पर्ने एक गुम्बा र एक सरकारी विद्यालयको आवासीय भवन निर्माणका लागि ६ करोड ९७ लाख अनुदान सहयोग गर्ने भएको छ। लोमान्थाङ-१ स्थित निफुक नर्वुलिङ गुम्बाको आवासीय भवन र लोमान्थाङ-२ स्थित दिव्य दीप माध्यमिक विद्यालयको आावासीय भवन निर्माणका लागि उक्त अनुदान दिने भएको हो।

नर्वुलिङ गुम्बा आवासीय भवनका लागि ४ करोड ४० लाख र दिव्य दीप विद्यालयको आवासीय भवनको लागत ४ करोड ३२ लाख लागत अनुमान गरिएको छ। जसमध्ये गुम्बा र स्कुलको आवासीय भवन निर्माण गर्न लोमान्थाङ गाउँपालिकाले २० प्रतिशत र भारतीय दुतावासले ८० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने गरी मंगलबार काठमाडौंमा सम्झौता भएको लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए।

भारतीय दूतावासको सहयोग बन्ने दुई आवासीय भवनको कूल लागत ८ करोड ७२ लाख रहेपनि लोमान्थाङ गाउँपालिकाले सम्झौता मुताविक १ करोड ७४ लाख ४० हजार व्यहोर्ने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यक्षको भनाइ छ। भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिने दुई आवासीय भवनको पूर्वाधारका लागि त्रीपक्षीय सम्झौता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

दूतावासका तर्फबाट प्रथम सचिव करुण बन्सेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सम्झौतापत्रमा हस्ताक्षर गरे। दुई आवासीय भवन निर्माणको काम १५ महिनामा सक्नेगरी समय निर्धारण गरिएको छ।