२० जिल्लाको मतपत्र छपाइ सम्पन्न

300 Shares

काठमाडौं : पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।

बुधबार प्रतिनिधि सभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ।

हालसम्म एक करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ। जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५०० र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ।

हाल कायम रहेको एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि करिब चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड मतपत्र आवश्यक पर्ने छ।

यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ।

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।