नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

354 Shares

पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

उनीहरू वनभोज गएर फर्किदा डुंगा दुर्घटनामा परेको हो। पिकनिक सात जना गएपनि पाँच जना मात्रै फर्केका थिए। डुंगा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरेर उनीहरूलाई अस्पताल पुर्‍याएको थियो। अचेत अवस्थामा रहेका पाँचमध्ये तीन जनाको अस्पतालमा पुर्‍याएको केही समयमै मृत्यु भएको हो।

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको थियो । पश्चिम नवलपरासी प्रहरीका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो।

डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ ।