सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेत र नेपाल जित्ने पक्का
सिन्धुपाल्चोक — प्रारम्भिक मतगणनामा प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् । पूर्वमन्त्री बस्नेतले भारी मत र पूर्वप्रदेशमन्त्री नेपाल थोरै मतले अघि बढिरहेका हुन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजकुमार चौधरीका अनुसार अहिले भोटेकोशी गाउँपालिकाको मतगणना सकेर अहिले बाह्रबिसे नगरपालिकाको मत गणना भइरहेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका नेपालले ४ हजार १४९ र गठबन्धनका माधव सापकोटाले ३ हजार ७२२ मत ल्याएका छन् । नेपालले सापकोटालाई ४२७ मतान्तरले पछाडि पारेका छन् । त्यस्तै क्षेत्र १ प्रदेश (क) मा सत्तागठबन्धनबाट कांग्रेसकी मसिना खड्का भण्डारीले ३ हजार ७१०, एमालेका डीबी लामाले ३ हजार ३२४ र राप्रपाकी निर्मला श्रेष्ठले ३७२ मत ल्याएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ४१६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणजंग पाण्डेले १०५ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका मोहनबहादुर बस्नेतले ३ हजार ८९३ मत र एमालेका शेरबहादुर तामाङ २ हजार २३५ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिंह श्रेष्ठले १७२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले ४८३ मत ल्याएकी छन्, जसमा कांग्रेसका पूर्वमन्त्री बस्नेतले १ हजार ६५८ मतान्तरले तामाङलाई पछाडि पारिरहेका छन् । यस क्षेत्रको प्रदेशसभा (१) मा गठबन्धन माओवादीका युवराज दुलाल शरदले ३ हजार ७३५ मत र एमालेका अमानसिंह तामाङले २ हजार १८९ मत पाए, जसमा एक हजार ५४६ मतान्तर देखिन्छ । दुवै क्षेत्रका प्रदेश (२) को मतपेटिका भने खोलिएको छैन ।

