राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ? – मेयर बालेन्द्र शाह

458 Shares

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका छन् । सोमबार राति एउटा भिडिओ शेयर गर्दै मेयर बालेनले यस्तो प्रश्न गरेका हुन् ।

उनले लेखेका छन् ‘देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ?’ सोमबार दिउँसो सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन पुगेका महानगर प्रहरीहरूमाथि आक्रमण भएको थियो ।

उनले शेयर गरेको भिडियोमा प्रदर्शनकारीले भनेका छन् ‘बालेन शाहको ज्यान खतरामा हुन्छ अब । मर्न परे ज्यान दिन्छौं, सके त्यसलाई पनि मार्छौ ।’सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए ।

मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो ।

नामै किटेर महानगरले प्रहरीमा गर्‍यो उजुरी

काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीलाई नर्भिक अस्पतालको आइसियूमा पुगेर भेटेका छन्। उनीहरू सोमबार साँझ अस्पतालमा पुगेका थिए। थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा भएको झडपमा घाइते भएर उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन मेयर बालेन र उपमेयर डंगोल नर्भिक पुगेका थिए।

साँझ करिब पौने ८ बजेतिर नर्भिक पुगेका बालेनले त्यहाँ उपचार गराइरहेका नगरप्रहरीको अवस्थाबारे डाक्टरहरूसँग बुझेका थिए। उनलाई चिकित्सकले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट लागेको र उनीहरूलाई अब्जर्भेशनमा राखिएको जानकारी गराएका थिए।यसबीच काठमाडौं महानगरले ‘अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरूको नाम खुलाएर कानुनी कारवाहीका लागि प्रहरी परिसर टेकुलाई पत्राचार गरेको’ जनाएको छ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन्। नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसियूमा उपचार भइरहेको’ उल्लेख छ।

‘कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो। यस कार्यमा संलग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ‚’ प्रवक्ता मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वास गरेका छौँ।’