आफूले दलको नेता दाबी गर्दा कुनै नेता चिढिएमा कुनै समस्या हुदैँन : सरल सहयात्री पौडेल

397 Shares

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीको प्रदेश संसदीय दलको नेतामा दाबी रहने बताएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा २ बाट निर्वाचित पौडेलले विधि निर्माण गरेर दलको नेता चयन हुनुपर्ने बताए ।

यदि आफूले दलको नेता दाबी गर्दा कुनै नेता चिढिएमा कुनै समस्या नहुने पौडेलले बताए । ‘कुनै सिनियर नेता विधिमा जाउँ भन्दा चिढिनुहुन्छ भने उहाँहरुको व्यक्तिगत समस्या हो । पार्टीलाई विधिमा बसाल्नुपर्छ भन्नु पार्टीको सम्पति हो’ रातोपाटीसँगको विशेष कुराकानीमा बोल्दै पौडेलले भने– ‘पार्टीलाई विधिमा लग्न सुनियर सिनियर भन्ने हुँदैन । मेरो जनेरेसनको ज जसको नाम लिनुभयो । मेरो जेनेरेसनको इतिहासले, आजको प्रतिस्पर्धाले, आजको पोजिसनले मेरो निरन्तरताले म कोहीसँग जुनियर होइन ।’ पार्टीलाई विधिमा बसाल्ने मामिलामा जुनियर सिनियर मान्दा नयाँ पुस्ताको मार्ग अवरुद्ध गर्ने पौडेलको तर्क छ ।

‘हामी मुख्यमन्त्री को हुने ? पार्टीको दलको नेता को हुने भन्ने विषयमा विधि निर्माण गर्नुपर्छ । त्यसमा २ वटा विधि छन् । एउटा समझदारीको र अर्को चुनावी प्रतिस्पर्धाको विधि हुनसक्छ’ पौडेलले भने, ‘अब टिका लगाउने विधिबाटमुक्त हुनुपर्छ । समझदारी गर्दा हामीले नै गछौं । हामीले जुन जुन पदमा दाबी गछौं त्यसमा समझदारी हुने छ । त्यसमा सबैको एकमत भयो भने त्यहीँ गरेर पठाउने छौं ।’ यदि समझदारी नभएमा आपसी समझदारीबाट चुनावी प्रतिस्पर्धाबाट दलको नेता चयन हुने पौडेलले बताए । चुनावी परिणामले जस्तो नतिजा दिन्छ त्यसलाई सहर्ष स्वीकार गर्न तयार रहेको बताए ।

आफूले दलको नेता मात्रै दाबी गरेकाले मुख्यमन्त्री हुने रुपमा नबुझ्न पौडेलले आग्रह गरे । ‘दलको नेता हुँदा वित्तिकै मुख्यमन्त्री हुने कुरा उठाइन्छ । दलको नेता हुँदा वित्तिकै मुख्यमन्त्री हुन्छ भन्ने छैन’ उनले भने– ‘प्रदेशमा कसैको बहुमत छैन । सरकार बनाउँदा गठबन्धन बनाएर मात्रै सरकार बनाउने अवस्था भएकाले को हुने टुंगो छैन ।’

यदि आफू दलको नेता भएमा प्रदेश निर्वाचित संसदीय दललाई व्यवस्थित गराउने दाबी गरे । ‘दलको प्रमुख हुँदा बित्तिकै महिना महिनामा बैठक राख्न सक्छ । प्रदेश सरकारको समीक्षा महिना पिच्छे गर्न सक्छ । कुन मन्त्री र सांसद ठीक ढंगले हिड्न सकेको छ छैन भन्ने विषयमा कन्ट्रोल गर्न सक्छ’ पौडेलले भने, ‘दलको नेता हुनु भनेको नीतिगत नेतृत्व लिनु हो । मुख्यमन्त्री हुनुभन्दा पहिला मुख्य कुरा नीतिगत र विधिगत उर्जा दिनको निम्ति दलको नेता दाबी गरेको हुँ ।’

दलको नेता सेरिमोनियल भएपनि आफूलाई काम गर्ने इच्छा भएको बताए ।