लुम्बिनीमा अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नवौं सडक खाना महोत्सव हुने
भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा अँग्रेजी नयाँ वर्ष–२०२३ को पूर्वसन्ध्यामा सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा हुने महोत्सव नवौं संस्करणको हो । संघले यसअघि आठवटा महोत्सव सफलता का साथ सम्पन्न गरिसकेको छ ।
संघले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन र कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले पुस १६ गते सडक खाना तथा सांस्कृतिक महोत्सव गर्न लागिएको जनाएको छ । संघका अध्यक्ष गोविन्द ज्ञवालीले महोत्सवमा स्थानीयदेखि तारे होटलसम्मका खानाका परिकार पस्किने बताए ।
सडक खाना महोत्सवमा स्थानीय थारु, मुस्लिम, पश्चिमी तराईका ब्राह्मण समुदायका खानाका परिकारका साथै पाल्पाको झिनिया रोटी र बटुक, हाँसको छोइला, चुकौनी, इम्रिति लगायतका खानेकुरा रहने ज्ञवालीले जनाए । ‘स्थानीय खानपिनका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय विहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरु पनि महोत्सवमा हामीले खान पाउने व्यवस्था मिलाएका छौं’, अध्यक्ष ज्ञवालीले भने । उनले अन्य नियमित खानाका परिकार पनि राखिने बताए ।
महोत्सवमा कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले नौमति, पञ्चेबाजा, विरहा, थारु झुमराका साथै आधुनिक पप तथा डिजे गीत–संगीतको प्रस्तुतीसमेत रहने छ । स्थानीय र राष्ट्रियस्तरका कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएका छन् । महोत्सवले कोरोना महामारीले थला परेकोको लुम्बिनी क्षेत्रको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘महोत्सवमा नेपालका हरेक ठाउँबाट आन्तरिक पर्यटक आउनेछन्, छिमेकी मुलुक भारतबाट पनि अधिक पर्यटक आउने हाम्रो अपेक्षा छ’, संघका बरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले भने । उनका अनुसार भारतीय पर्यटक महोत्सवमा भित्र्याउन भारतका विभिन्न ठाउँमा प्रचारप्रसार पनि गरिएको छ । शर्माले कोरोना पछि लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय सिथिल भएकाले यसलाई पूर्ववतः अवस्थामा फर्काउन संघले प्रयास गरिरहेको जनाउँदै अन्य क्षेत्रबाट पनि सहयोगको अपेक्षा गरिएको बताए ।
खाना महोत्सवमा आउने पाहुनालाई लक्षित गरी स्थानीय उत्पादन कोशेलीका रुपमा खरिद गरेर लैजाने व्यवस्थासमेत मिलाइएको संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । उनका अनुसार सडक खाना महोत्सवमा आउने पाहुनाले काला नमक र टिन्नी चामल, इम्रिति, पेडा, थाई मिठाई, लुम्बिनीमा बनेको अर्गानिक धूप, हस्तकलाका सामाग्रीहरु अन्य उत्पादनहरु खरिद गर्न पाउने छन् ।
संघले सडक खाना महोत्सवलाई लक्षित गरेर पुस १६ गते अँग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा होटलमा बास बस्ने पाहुनालाई ३० प्रतिशत छुट दिने जनाएको छ । ‘हामीले संघमा आबद्ध होटलहरुमा यो सुविधा दिने छौं, जो कोही पर्यटक लुम्बिनीका होटलहरुमा बस्नुभयो भने प्रत्येक कोठाको भाडामा तोकिएको छुट पाउनुहुनेछ’, संघका पूर्वअध्यक्ष मिथुनमान श्रेष्ठले भने । उनले यसले पर्यटकलाई केही न केही सुविधा थप हुने जनाए ।
लुम्बिनी होटल संघ, नेपाल प्रमुख आयोजक रहेको महोत्सव पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय, रुपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघसंस्थाले सहयोग गरेका छन् ।

