सियारीका जेष्ठ नागरिकलाई बलाङ्केट वितरण
भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ । गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ५ का जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको हो ।
७० बर्षमाथिका जेष्ठ नागरिकलाई जाडोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले बलाङ्केट बितरण गरिएको वडा कार्यालयले जनाएको छ । सियारी ५ का वडा अध्यक्ष धनपति खरेलले जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन तथा सम्मान स्वरुप बलाङ्केट बितरण गरिएको बताए ।
उनले वडाको बार्षिक कार्यक्रम अन्तर्गत एक सय ८५ जना जेष्ठ नागरिकलाई बलाङ्केट बितरण गरिएको बताए । उनले यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाले जेष्ठ नागरिकको हितका लागि नीति बनाएर कार्यक्रम गर्दै आएको जनाए । ‘जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नेदेखि न्यानो कपडा बितरण लगायतका कार्य हामीले गर्दै आएका छौं’, उनले भने ।
पालिका भित्रका १ हजार ३ सय ७८ जना जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरी औषधि उपचार गरिएको थियो । उनले सियारीवासी नागरिकका लागि निःशुल्क रगतको प्रबन्ध समेत मिलाइएको बताउदै यसको लाभ लिन सबैलाई आग्रह गरे ।
बलाङ्केट बितरण कार्यक्रममा बोल्दै पालिकाकी उपाध्यक्ष तारा थारुले जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले वडा कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत पाँच नम्बर वडाले जेष्ठ नागरिकको उच्च सम्मान स्वरुप न्यानो कपडा (बलाङ्केट) बितरण गरेको बताए । उनले पालिका भित्रका अन्य वडाले आफ्ना बार्षिक कार्यक्रम अन्तर्गत बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।

