ओमसतियामा ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला’ कार्यक्रम
भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाले ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तर्गत पालिकाले चारपटक सुत्केरी जाँच गरेका गर्भवती महिला तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीका अनुसार यसरी उपलब्ध गराइने पौष्टिक आहारमा स्वादिलो हलुवा, मिठो दलिया र बिशेष प्रकारको खिर बितरण प्रदान गरिने छ ।
गाउँपालिकाका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन तथा बाल मृत्युदर एवम् मातृमृत्युदर घटाउने लक्ष्यसहित कार्यक्रम लागु गरेको पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बताइन्।साउन यता सुत्केरी भएका ४५ दिने महिला तथा स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराइरहेका गर्भवती महिलालाई उपाध्यक्ष चौधरी आफै घरदैलोमा पुगि शुभकामनासँगै पोषण सामाग्री बितरण गर्ने गरेकी छन् । यसले महिलाहरुमा स्वास्थ्य संस्थाप्रति विश्वास बढाएको उनको भनाई छ । ‘हाम्रो लक्ष्य पनि त्यही हो, महिलाहरुले स्वास्थ्य संस्थालाई अधिकतम प्रयोग गरुन भन्ने,’ चौधरीले भनिन् ‘घरदैलोमा शुभकामनासँगै गर्भ अवस्थामा हुने जटिलताको बारेमा पनि जानकारी दिने गरेकी छु ।’
स्वास्थ्यकर्मीसँगै सम्बन्धित महिलाको घरघरमै पुगेर १ हजार ५० रुपैयाँ बराबरको पौष्टिक आहार बितरण गर्ने गरिएको छ । गाउँपालिकामा सरदर बार्षिक ६ सय ६७ शिशुहरु जन्मिने गरेको तथ्यांक छ । यस बर्ष पालिकाले ५ सय ७८ जनालाई पुग्ने गरि बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव (सोनु) ले बताए । उनले यो बजेट अपुग भए आवश्यकता अनुसार थप रकम छुट्याउन सकिने जनाए।
पालिकाले ओमसतियामै रहेको प्रसुति केन्द्रमा शिशुलाई जन्म दिने महिलालाई १ हजार ५ सय बराबरको पोषण झोला पनि बितरण गर्ने गरेको छ । झोलामा सुत्केरीलाई आवश्यक पर्ने अण्डा, घ्यू, काजु, किसमिस, बदाम, नरिवल, ज्वानो र भेली जस्ता सामाग्री राखेर दिने गरिएको छ । ओमसतियामा बसन्तपुर स्वास्थ्य संस्था र छोट्की रामनगर स्वास्थ्य संस्था गरि २ वटा प्रसुति केन्द्र छन् । गाउँपालिकामा यी प्रसुति केन्द्रमा जाने गर्भवती महिलाहरुलाई लक्षित गरि निःशुल्क एम्बुलेन्सको ब्यवस्था पनि गरेको छ ।

