दुइ पालिका निमित्तकै भरमा संचालन हुदा चरम आर्थिक अनियमितता बढ्दै

288 Shares

रौतहट २१ पुस । रौतहट जिल्लाको दुईवटा स्थानिय तह अहिलेपनि निमित्तकै भरमा संचालनमा रहदा कार्यालयको कामकाज प्रभावित भइरहेका छन् ।
नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यी कटहरिया र माधवनारायण नगरपालिकाको कामकाज गर्न शाखा अधिकृत किरणनिधि तिवारीलाई जिम्मेवारी तोकेको भएपनि अधिकृत तिवारी दुबै पालिकामा काम गर्न असमर्थता देखाएपछि दुबै पालिका प्रशासकीय अधिकृत विहीन बनि निमित्तकै भरमा संचालन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको हो ।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल संग शाखा अधिकृत तिवारीको तालमेल नमिल्दा निमित्त दिएर कार्यालय गएका छैनन । सो पालिकामा लेखा अधिकृत राम प्रकाश साह निमित्त पाएपनि प्रमुख प्रशासकीय अधिकृतको हैसियतले कार्यालयको कामकाजी कागजपत्रमा प्राविधिक सहायकको दरबन्दीमा कार्यरत रहेका हरिन्द्र यादवले हस्ताक्षर गर्ने गरेका छन् ।
यस्तै माधव नारायण नगरपालिकामा नगर प्रमुख बैद्यनाथ यादवको कारण निमित्तको रुपमा शाखा अधिकृत मिश्रीलाल साहले कामकाज गर्दै आएका छन् । लेखा शाखाबाट भुक्तानीको सक्कल फाइल गायब भएको विषय लिएर नगरपालिका भित्र कार्यरत कर्मचारी बीच अंतरद्वन्द्व उत्पन्न भएको कारण नगरपालिकाको कामकाज प्रभावित बनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाले अधिकृत सातौ मिश्रीलाल साहलाई २०७९ साल भाद्र २३ गतेमा मकवानपुर जिल्लाको थाहा नगरपालिकामा काज फिर्ता गरे पनि साह त्यहाँ नगइ माधव नारायण नगरपालिका मै बसेर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउन नगरप्रमुख यादव संग मिलेर चलखेल गरिरहेको कर्मचारी श्रोतबाट बुझिएको छ ।
नगरपालिकामा भएको आर्थिक अनियमिततामा ठूलो भूमिका रहेका नगरप्रमुख यादव र साहको संलग्नता रहेकोले छानविन गर्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । नेपाल सरकारले स्थानीय तहमा उपसचिव पठाउने भने पनि नपठाएको कारण पालिकाहरु निमित्तको भरमा सञ्चालन भइरहदा नियमित रुपमा सेवाग्राहीलाई दिइने सेवा प्रभावित बन्नुको साथै चरम आर्थिक चलखेलको कारण कर्मचारी कर्मचारी बिच द्धन्दको अवस्था सृजना भइरहदा अविलम्ब संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले यस्ता कार्यलाई अविलम्ब रोक्नका लागि उपसचिव पठाएर बेथितीको अन्त्य गर्नुपर्ने माधवनारायण नपामा माओवादीबाट मेयर प्रत्याशी बनेका देवनारायण भगतले माग गरे ।