भक्तपुरमा उपत्यकाका नगर प्रमुखहरू

429 Shares

भक्तपुरः फोहरमैला व्यवस्थापन गर्न काठमाडौँ उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुर थिमिको रिकिसी प्राङ्गारिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरूले अवलोकन भ्रमण गरेका छन ।

उपत्यकाका फोहोरलाई व्यवस्थापन गर्न साझा अवधारणा बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वरका नगरप्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरूले त्यहाँको फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरी जानकारी लिएको मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिएका छन ।

अवलोकनपछि नगर प्रमुखहरूले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्नसक्ने गरी विकल्प खोजी गर्ने क्रममा मध्यपुर थिमि आएको बताए । मध्यपुर थिमिमा चार वर्षअघि तत्कालीन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जापान भ्रमण गरी जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राविधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गरेका थिए ।

मध्यपुर थिमि वडा नं ४ र ५ बाट फोहोर सङ्कलन गरी मल बनाउँदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रविधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ ।