सत्ता गठबन्धनको विवादले तीन दलका बैठकमा पायो प्रवेश

290 Shares

काठमाडौं । सरकारकेन्द्रित विषयमा छलफल गर्न सत्ता साझेदार दलहरुमध्ये नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका बैठक आज बस्दैछन् । राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सुरु भइसकेको छ भने माओवादी र रास्वपाको बैठक ४ बजे सुरु हुने भनिएको छ । तीन दलका बैठक सत्ता साझेदारदलबीच उत्पन्न असमझदारीमा केन्द्रित छन् ।

छोटो समयमा नै सत्ता स्वार्थमा नीहित सातदलीय सहमतिमा दरार उत्पन्न भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार महिना दिनको आसपासमै विभाजनको संघारमा आइपुगेको छ । एक महिनाको अवधिमै मन्त्रिपरिषदमा रहेका सदस्यहरुको अराजक गतिविधि पनि बढेर गएको छ । कुनैमन्त्री कोहीप्रति उत्तरदायी भएको देखिदैन् ।

यो परिस्थितिमा राप्रपा र रास्वपाका बैठकका विषय यो प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिने कि नदिने भन्नेमा केन्द्रित भएर बोलाइएको छ भने माओवादीको सरकार यही समीकरणबाट अगाडी लान प्रयन्त गर्ने कि नयाँ समीकरणतिर जाने भन्नेमा केन्द्रित छ । तीन दलका तीन बैठकको स्वार्थ सरकारसँग जोडिएको छ । राप्रपाले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाबारे संसदमा आवाज उठाउन नपाएको भन्दै सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न खजिरहेको छ ।

यता,रास्वपाको आाकस्मिक बैठक बोलाउनुको उदेश्य पनि सरकारकै विषय छ । उसले तत्काल गृहमन्त्री नपाए साँझ पाँच बजेबाट सरकार छाडेर बाहिर जाने भनेको छ । रास्वपाका सभापति रवि लामिछानेले बिहीबार दिउँसो सामाजिक सञ्जालमै प्रधानमन्त्रीलाई धम्कीपूर्ण सन्देश पठाइसकेका छन् । उनले सारा विषयहरुलाई विर्सिएर गृहमन्त्रीका लागि आत्मदाह नै गर्ने हुनकि जस्तो बनाएका छन् ।

नेकपा माओवादीको बैठक पनि सरकारबारे पार्टीको धारण बनाउन बोलाइएको छ । विभाग र नेताहरुको कार्यविभाजन गर्नका लागि बैठक बोलाइएको भनिए पनि कार्यविभाजनबारे सहमति भइसकेको छैन् । तीन पटक स्थगित भएको स्थायी कमिटी बैठक अहिले चारबजेपछि पेरिसडाँडाँमा बस्दैछ । राप्रपा र रास्वपाको बैठकका निर्णय कुर्न पनि माओवादीको बैठक ठिलो सुरु हुनसक्ने बताइएको छ ।