धेरै दिनदेखि मौन गगन थापा खनिए ओली, रवि र लिङ्देनमाथि

307 Shares

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा लामो समयदेखि मौन थिए ।

पार्टीका भ्रातृदेखि भावी रणनीतिका लागि गुप्त बसेका थापा बुधबार सार्वजनिक कार्यक्रममा प्रकट भए । महामन्त्री थापाले राजधानीमा बुधबार आयोजित विचार गोष्ठीमा सत्तारुढ एमाले, रास्वपा र राजपाका शीर्ष नेताको कार्यशैलीको आलोचना गरे ।

खासगरी एमाले अध्यक्ष केपी ओली न्यायपालिकामाथि निर्मम ढंगले प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि जनाए । थापाले एमाले नेतृत्वमाथि अदालतको निन्दा किन भनेर प्रश्न गरेका छन् ।

अदालतको फैसला चित्त नबुझ्न सक्ने र त्यो निर्णयको पक्ष र विपक्षमा बहस छलफल हुनसक्ने बताए । तर एमाले नेतृत्वले पछिल्लो समय संसद र सार्वजनिक मञ्चहरुबाट अदालतको निन्दा गर्न थालेको भन्दै उनले भने, ‘स्वतन्त्र न्यायपालिकाबारे एमाले नेतृत्वको मत के हो ? के अदालतले कार्यकारी वा राजनीतिक नेतृत्वको मनसाय बुझेर निर्णय गर्नुपर्ने हो ?’ ओलीले संसदमै सर्वोच्च अदालतको फैसलाको विरोध गरेका थिए ।

महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानुको कारणबारे प्रश्न गरेका छन्। यस्तै उनले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नगरेकोमा असन्तुष्टि जनाए । ‘पुराना नेताहरूलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको ? सरकारमा किन गएको भनेर उसले स्पष्ट पार्नु नपर्ने ? सरकारको गएको दल फेरि किन बाहिर गएको ?’

सरकारबाट बाहिरिँदै प्रधानमन्त्रीको आलोचना गर्नुपर्नेमा रास्वपाका सभापति रवि लामिछानेले मिडियाविरुद्ध अभिव्यक्ति दिएको थापाको भनाइ छ। उनले भने, ‘सबैभन्दा बढी रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ?

अनि अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो ?’ महामन्त्री थापाले अरु भन्दा भिन्न छौं भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाव दिएको बताए । महामन्त्री थापाले प्रदेश सरकारमा गएको विषयलाई लिएर राप्रपालाई पनि प्रश्न गरेका छन् ।

राजसंस्था फर्काउँछु भनेर जनतामा भोट मागेर आएको दलका सांसदहरुले यसबारे बोल्न नपाउने भन्ने आफूलाई नलागेको उनले बताए । तर प्रदेश खारेज गर्नुपर्छ राप्रपाका नेताहरु सभामुख र प्रदेश सरकारमा मन्त्री भएको भन्दै उनले भने, ‘प्रदेशमा ल्याएको कानुन पास गरौं प्रदेश बलियो हुन्छ । सभामुख भएर यो प्रदेशको संसद कसरी कमजोर बनाउने भनेर दिनरात सोच्नुपर्‍यो ।