सरकार ढाल्ने प्रयास भइरहेको भन्ने ओली अभिव्यक्तिले नयाँ तरंग, पुरानो गठबन्धन ब्यूँतने

314 Shares

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गरेपछि एमाले सशंकित बनेको छ । नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेतासँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमै राष्ट्रपति छानिने प्रतिबद्धता जनाएपछि एमाले अध्यक्ष केपी ओली भाउन्न भएका हुन् । सोही कारण उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ओलीले खुलेर प्रचण्डसँग राष्ट्रपतिको विषय झिक्न सकेका छैनन् ।

आइतबार बिहान उच्चस्तरीय संयन्त्रको बैठक सकेर झापा पुगेका ओलीले सरकार ढाल्ने प्रयास भइरहेको भन्दै मुख खोले । ओलीको सो अभिव्यक्तिलाई धेरैले अहिलेको गठबन्धन भत्काएर पुरानै गठबन्धन बनाउने प्रयास भइरहेको धेरैको बुझाई छ । सत्तारुढ दलमा देखिएका विवादले नेपालको राजनीति त्यतैतिर उन्मुख भइरहेको विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार पनि सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । माओवादीको बागमती प्रदेश समन्वय समितिको बैठकलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै प्रचण्डले एकताका निम्ति पहल गर्नुपर्ने भएकाले राष्ट्रिय सहमतिका जोड दिँदै आएको स्पष्ट पारे । ‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो । त्यसपछि नयाँ परिस्थिति बन्यो,’ प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नु छ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले राष्ट्रपतिमा मुख्य दाबी गरेका छन् । तेस्रो ठूलो दल माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइलाई आधार मान्ने हो भने राष्ट्रपति निर्वाचनसम्म राजनीतिमा हेरफेर हुन सक्छ ।

प्रधानमन्त्री प्रचण्डसँग बिहीबार राति भेट गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार माधव नेपालसँग संवाद गरे । देउवासँग भेट भएकै दिन नेपालले राष्ट्रपति निर्वाचनमा समीकरण बदलिन सक्ने संकेत मात्र गरेनन्, निर्वाचनमा धेरैको आशा मर्ने बताए । ‘अहिले राष्ट्रपतिको चर्चा छ । हामी नयाँ परिस्थितिमा पुग्दै छौँ । प्रत्येक व्यक्ति म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ, भइहालेँ भन्ने परिरहेको छ,’ नेपालको भनाइ थियो, ‘को–को सेन्टिफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अगाडि बढिरहेको छ । मैले संकेत मात्रै गरेको हुँ, धेरै कुरा नभनौँ ।’ एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाइले शीर्ष नेताहरूले भावी राष्ट्रपतिका लागि धेरैलाई आश्वासन बाँडेको संकेत गर्छ । तर, अहिलेसम्म भावी राष्ट्रपतिका लागि कस्तो समीकरण होला भन्ने टुंगो छैन ।