राष्ट्रपतिमा एमालेलाई एक्ल्याउने प्रयास गर्दै कांग्रेस-माओवादी : प्रचण्ड र उपसभापति खड्काबीच भेट
बिहीबार बिहान पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
काठमाडौं : राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरेको छ। गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनमा लडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुन: माओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो।
पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ। बिहीबार बिहान पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्। उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ।
यस अगाडि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतका नेताहरुले विभिन्न चरणमा छलफल गरेका छन्। कांग्रेसले माओवादी केन्द्रसँगको सहमतिमै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउने तयारी गरिरहेको छ। केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर रहेको कांग्रेस माओवादीलाई फकाएर पुरानो गठबन्धन पुन : बिउँत्याउन सक्दो प्रयास गरिरहेको छ।
गत पौष १० गते प्रधामन्त्री माओवादी र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। पुस २६ मा कांग्रेससहित २ सय ६७ सांसद्बाट विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। पछिल्लो समयमा माओवादी केन्द्रले सार्वजनिक रुपमा राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताइरहेको छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन। मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो। ढोक्सा थापेको हो भने गल्ती हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ।’
मंगलबार अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन तोडिने संकेत गरेका छन्। ‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने,’ उनले संकेत गरे, ‘संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ । यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।

