राष्ट्रपति निर्वाचनको दुई दिन अघि सत्ता भागवण्डा गर्न माधव–उपेन्द्रको जोड

279 Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनको तीन दिन अघि आठ दलीय गठबन्धनमा सहभागी रहेका नेकपा एस र जसपाले सत्ता भागबण्डा मिलाउन दबाब दिएका छन् । राष्ट्रपति निर्वाचनपछि कांग्रेस र माओवादी मिलेर सरकारमा आफूहरुलाई ‘कर्नर’मा पार्न सक्ने भयले निर्वाचन अघि नै भागबण्डा मिलाउन दबाब दिएका हुन् ।

२५ वटा मन्त्रालयमध्ये १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन् । मन्त्रालय बाँटफाँटमा कांग्रेसले कम्तीमा ८ वटा र अन्यलाई त्यही अनुसार भागबण्डा गर्नुपर्ने अवस्था रहेकाले एस र जसपालाई रोजेको भन्दा पनि छाडेको मन्त्रालय पाउने अवस्था आउने भएकाले सोमबार त्यस्तो दबाब दिइएको थियो ।

फागुन १३ गते राप्रपा र १६ गते एमालेले सरकार छाडेका थिए । १३ गते राष्ट्रपति चुनावको मनोनयनसँगै एमाले, माओवादीसहितको गठबन्धन भत्किएर पुरानो गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति पार्टी थपिएर आठ दलीय गठबन्धन बनेको छ । नेकपा एसले उपप्रधानमन्त्री र गृहमन्त्रीमा दावी गरेको छ । अहिले गृहमन्त्रालय प्रधानमन्त्रीसँग छ । माओवादीले गृह मन्त्रालय नछाड्ने मनसायका साथ कर्मचारीहरु पनि त्यही अनुसार सेटिङ गरिसकेको छ । हाल सरकारमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका ५ र जनमत पार्टीका १ जना मन्त्री मात्रै छन् ।

प्रत्यक्ष जनतासँग जोडिएका अर्थ, गृह, परराष्ट्र, स्वास्थ्य, शिक्षालगायतका महत्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन छन् । मन्त्रालय बाँटफाँटको विषय जटिल भएपनि औपचारिक रूपमा २५ गते राष्ट्रपति चुनावपछि मात्र सो विषयमा छलफल हुने नेताहरू बताउँदै आएकोमा नेकपा एस र जसपा नेताहरुले २५ गते अघि नै केही न केही सहमति गरौं भन्ने प्रस्ताव गरेको गठबन्धन दलका एक नेताले भने ।

मन्त्री सरकारमा पठाउन ठिक्क परेका एकीकृत समाजवादी र जसापभित्र २५ फागुन अगावै मन्त्रालयसमेत तोकेर राख्नुपर्नेमा छन् । ‘कांग्रेसले ८९ सीट र माओवादीले ३२ सीट भनेर अनावश्यक रुपमा दबाब दिने भयले नेकपा एस र जसपाले अहिले नै सत्ता भागबण्डा लगाउन खोजिरहेका छन्’, स्रोतले भन्यो । अहिलेको गठबन्धन बनाउन नेकपा एसको महत्वपूर्ण भूमिका रहेकाले राम्रो र कामकाजी मन्त्रालय पाउनुपर्नेमा एसको दावी छ । जसपा पनि यही अवस्थामा छ । यसअघि एमालेसँगको गठबन्धनमा रहेको जसपाले एमाले छाडेर कांग्रेससँगको गठबन्धनमा आएको थियो ।

राष्ट्रपतिको निर्वाचनपछि ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । जसपाले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्न बाँकी छ । पार्टीबाट उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको चर्चा छ । गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने भन्ने सहमति भएको छ । सोही अनुसार यादवको चर्चा भएको हो । यादव उपराष्ट्रपति भएमा उपेन्द्र यादव उनको स्थानमा चुनाव लडेर सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने तयारी छ । जसपाले ३ मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको छ । कुन मन्त्रालय भन्ने विषयमा छलफल भएको छैन ।zउपप्रधानमन्त्रीसहित अर्को एक मन्त्रालयको दावी गरिरहेको छ । उता रेशम चौधरीको पार्टीको माग भने थगिनसक्नु नै रहेको छ । कैलाली जिल्लालाई टुक्राएर टिकापुरलाई छुट्टै जिल्ला बनाउनु पर्ने, रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउनु पर्ने, एलिजा गौतमलाई राष्ट्रियसभाको सांसद बनाउनुपर्ने, रेशम चौधरीलाई छाड्नु पर्ने जस्ता माग रहेका छन् । ‘राष्ट्रपति चुनावको मुखमा सत्ताधारी दलहरुबीच महत्वकांक्षा बढेको छ, दलहरुबीच सहमति भने भएको छैन, सरकार विस्तारको विषय पनि चैत ३ पछि नै हुनेछ’, माओवादीका एक पदाधिकारीले भने ।