रवि लामिछानेको काण्डको फाइल तयार, अदालतमा मुद्दा दायर गरिँदै, पक्राउ पर्नसक्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी अनुसन्धानको प्रतिवेदन फाइल तयार भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो । अब सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउनेछ । जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।
चितवन २ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बेला जिल्ला अदालतमा मुद्दा दायर भई कारवाही अघि बढ्दा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे लामिछाने पक्राउ पर्नेछन् ।
हाल प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनको क्रममा रहेको सरकारी वकिल कार्यालयका एक उच्च अधिकारीले बताए ।
रवि लामिछानेले अमेरिकी राहदानी भएका बेला झुटा विवरण पेश गरेर नेपाली राहदानीसमेत लिएका थिए । यो कुरा उनले स्वयं स्वीकार गरेका छन् । राहदानी ऐनमा झुटा विवरण दिएर राहदानी लिनेलाई कैद तथा जरिवानाको सजाय हुने व्यवस्था छ । लामिछाने दोषी ठहर भए उनी जेल जानेछन् भने राजनीतिमा उम्मेदवार बन्न पाउने छैनन् ।
यसअघि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले माघ १३ मा गैरनागरिक ठहर गर्दै लामिछानेको सांसद पद खारेज गरेको थियो । उनले पुन नेपाली नागरिक लिइसकेका छन् ।

