कोशी प्रदेश” नामाकरण भएकोमा आदिबासी-जनजाति समुदायको भारीभरकम बिरोध प्रदर्शन
हिजो बिराटनगरमा थिए। “कोशी प्रदेश” नामाकरण भएकोमा आदिबासी-जनजाति समुदायको भारीभरकम बिरोध प्रदर्शन थियो। बिराटनगर तनावपूर्ण अनि अस्तव्यस्त थियो। तर, मुख्य सरोकारबाला प्रदेशका मुख्य मंत्री आफु निरापद छु देखाउन कुनै पहाडी जिल्ला तिर लागेका थिए। साँझ उनको वक्तव्य प्रसारित भयो, उनको भनाई थियो ‘कोशी नामाकरणमा पुनर्विचार हुन सक्दैन।’
संघीय सरकारका पक्षहरू र संघीय संसदका दलहरू सबै यस सवालमा निरपेक्षित रहेका छन्। प्रदेश सभामा यस बारे मतदान हुदाँ काँग्रेस-एमाले र माओवादीको सहकार्य थियो। यिनीहरू कोशी नामको पक्षमा थिए। जनजाति-आदिवासी आन्दोलनका नेताहरू उपेन्द्र यादवका जसपालाई नजिकका ठान्ने गरेका छन्। हालै उपेन्द्रले पूर्वको एक आदिवासी सभामा “मुलुकको नाम नेपाल रहनु भन्दा पहिले लिम्बुआनको अस्तित्व थियो भनी बोल्दा ठूलो समर्थन पाएका थिए। यसपछि उपेन्द्र आफ्नो पार्टीबाट उपराष्ट्रपति बनाउन र आफु संसदमा पुग्ने तारतम्यका लागि काठमांडू लागे जहाँ उनि यस बारे मौन छन्।
जय प्रकाश आनन्द
नेपालमा आज पर्यन्त भएको राजनीतिक परिवर्तनका लागि जुन जुन पक्षहरू प्रभावशाली तथा निर्णायक रहेका छन् वा भनौं नेपालका स्थायी सत्ता बाहक शक्तिहरू-तिनीहरू सबै “कोशी” नामाकरणमा मौन समर्थन दिएका छन्। नेका, एमाले, माओवादी, राप्रपा लगायत बिभिन्न पार्टीहरूमा रहेका आदिवासी-जनजाति नेताहरू मौन छन्। आदिवासी आन्दोलनका ठूला अभियन्ताहरू पर्शुराम तामांग, पासांग शेर्पा, सुरेश आले मगर, मल्ल के. सुन्दरहरूले केही बोल्दैनन्। पूर्वका बिभिन्न खाले नपा र गाउँ पालिकाका प्रमुखहरू पनि लाटो भएका छन्।
प्रदेश १ का बहुसंख्यक खस आर्य समुदाय ‘कोशी’ नामको पक्षमा छन्। झापा, मोरंग, सुनसरी र उदयपुरका उल्लेखनीय मधेसी समुदायले पनि कोशी नामका बारेमा खासै आपत्ति व्यक्त गरेको देखिन्न्। यस क्षेत्रका थारू समुदाय पनि कोशी नामको बिरूद्धमा मुखर छैनन्। यसरी बिचार्दा कोशीको पक्षमा रहेको ध्रुबिकृत जनमत बलियो नै देखिन्छ।
यसतो अवस्थामा संघीय सरकारको निर्णय महत्वपूर्ण हुन्छ। स्वभावतः संघीय सरकार तथा संघीय शक्तिको रूझान कोशी नाम कै पक्षमा रहेको स्पष्ट छ। यसर्थ, मलाई लाग्दछ, शायद यो नाम फेरिन्न होला। तर पनि पूर्वका आदिवासी जनजातिहरूले दरो आन्दोलन थालेका छन्। मधेस प्रदेश पश्चिमका प्रदेशहरूको नामाकरण गरिंदा ताम्सालिंग, तमुवान, मगरात तथा खसानको नाममा पहिचानको प्रदेश माग्नेहरूले भने कुनै आपत्ति समेत जनाउन सकेनन्। यस अर्थमा पहिचानको मांग एवं अपेक्षालाई मुखरित गर्नेमा मधेस पछि कोशी प्रदेशका आदिवासी-जनजाति समुदाय जीवन्त देखिएका छन्। तर, यिनीहरू कहाँ चुके त ? यसको मूल्यांकन गर्ने हुन कि !

