भर्चुअल करेन्सी कारोबार गैरकानुनी, कारोबार नगर्न केन्द्रीय बैंकको आग्रह

240 Shares

काठमाडौं : नेपाल राष्ट्र बैंकले पटक पटक भर्चुअल करेन्सी तथा क्रिप्टोकरेन्सी लगायतको कारोबार गैरकानुनी भएकाले नगर्न चेतावनी दिँदै आएको छ।
यसै क्रममा सोमबार पाँचौ पटक आम सर्वसाधारणलाई विभिन्न नाममा रहेका भर्चुअल करेन्सीमा लगानी नगर्न सचेत गराएको हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकाअनुसार क्रिप्टो करेन्सी/ भर्चुअल करेन्सी, नन फंजिवल टोकन, डिजिटल एसेस्ट, डिसेन्ट्रलाइज्ड फाइनान्स, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड, विटक्वाइन कारोबार, लगायतका कारोबार गैरकानुनी रहेको बताएको छ।

यसैले केन्द्रीय बैंकले यस्ता कारोबार/व्यवसाय गैरकानुनी रहेकोबारे यसअघि ४ पटक सम्म सजग गराइसकेको छ। यसअघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते र २०७९ साउन ३० गते सार्वजनिक सूचनाहरू प्रकाशन गरेर सजग गराएको थियो।

यस्ता कारोबार अन्त्य नभएकाले र आगामी दिनमा कसैले नगरून् भनेर फेरि आमसर्वसाधारणलाई गैरकानुनी भएकाले नगर्न अवगत गराइएको केन्द्रीय बैंकले बताएको छ।

नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा यस्ता भर्चुअल मुद्राले कानुनी मान्यता पाएको छैन। साथै, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, यस बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकाले यी भर्चुअल मुद्राको कारोबार नगर्न भनिएको हो।

विभागकाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको छ।

यस्ता कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयबारे पनि ध्यानाकर्षण गराइएको छ।

‘यसकारण नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक/फर्म/कम्पनी/संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले विदेशमा लगानी हुनेगरी कुनै पनि प्रकारका भर्चुअल मुद्रामा कारोबार गर्न पाईदैन,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘यदि गरे/गराएको पाइएमा तथा सोको प्रयोग/संलग्नता/सदस्यता/लगानी/स्वामित्वग्रहण/स्थानान्तरण/विप्रेषण/विनिमय/माईनीङसम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ।