हनुमान जन्मोत्सब नेपालगञ्जमा धुमधाम, विशाल शोभायात्रा निकालियो

225 Shares

नेपालगञ्ज । नेपालगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आज विहान बिशाल शोभा यात्रा गरिएको छ ।

नेपालगञ्जको वडा नम्बर २ स्थित हनुमानगढी मन्दिरबाट निस्केको बिशाल शोभा यात्रा नेपालगञ्जका बिभिन्न भागको परिक्रमा गरी पुनः हनुमानगढी मन्दिरमा पुगेर समापन भएको थियो । धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड, त्रिभुवन चोक, बीपी चोक हुँदै पुनः हुनमानगढी मन्दिरमा पुगेर शोभा यात्रा समापन भएको थियो । हनुमान जन्मोत्सव कार्यक्रम मंगलबारदेखि सुरु भएको हो ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजन, बुधवार साँझ भारतको अयोध्याबाट आएका १२ जनाको विशेष टोलीद्वारा विशेष झाँकी प्रदर्शन, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन गरिएको थियो । आज शुन्दरकाण्ड पाठ एवं भजन कीर्तन, विशाल भण्डारा हुनेछ । आजै भण्डारा र महाआरतीसंगै हुनमान जन्मोत्सवको कार्यक्रम पनि सकिने जनाइएको छ ।