एनजीओले २८ वर्षसम्म सार्वजनिक जग्गा हडपेर बनाएको भौतिक संरचनामा उपमहानगरले चलायो डोजर
काठमाडौं । बारामा एक गैरसरकारी संस्था (एनजीओ) ले २८ वर्षसम्म सार्वजनिक जग्गा आफ्नो कब्जामा लिएर अनधिकृत रुपमा बनाएको भौतिक संरचनामा जीतपुर–सिमरा उपमहानगरपालिकाले आइतबार डोजर चलाएको छ ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीका अनुसार करिब १५ वटा सटर र केही होटल तथा कच्ची संरचना डोजर लगाएर भत्काइएको हो । उनका अनुसार एनजीओको कब्जामा रहेको जग्गामा बनेका अनधिकृत संरचना भत्काएर सो जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।
उपमहानगरपालिकाका अनुसार २०५२ सालमा ‘वीरगञ्ज जीतपुर गौशाला’ नामको एक गैसरकारी संस्था दर्ता गरेर जीतपुरको मुख्य बजारको करिब एक बिघाहा सार्वजनिक जग्गा भोगचलन हुँदै आएको थियो ।
भूमिसुधार लागु भएपछि २०२२ सालमा जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाका नाममा लालपूर्जा कायम भएको थियो ।
सोही फैसलाको आधारमा उपमहानगरपालिकाले आइतबार गौशालामा रहेको अनधिकृत भौतिक संरचना भत्काइएको मेयर राजन पौडेलले जानकारी दिए । फैसलापछि जीतपुरसिमरा उपमहानगरपालिकाको सातौं नगरसभाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने निर्णय गरेको थियो ।
उपमहानगरले गौशालामा रहेका गाइहरुको हेरचाहका लागि आइतबारबाटै २ जना दैनिक ज्यालादारीमा कर्मचारी राखेको पुरीले बताए । जग्गा हडप्ने संस्थाले सटर लगायत संरचना भाडा लगाएर रकम उठाउँदै आएको थियो ।

