गोरखपुरमा भेटिए प्रहरीको फरार सूचीमा रहेका एमाले सचिव रायमाझी

213 Shares

काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी गोरखपुरमा भएको खुलेको छ । उनी भैरहवाबाट सुनौली नाका हुँदै गोरखपुरमा लुकेर बसेको स्थानीय उच्च प्रहरी स्रोतले नेपालबहसलाई जनाएको छ । प्रहरीकै सहयोगमा उनी गोरखपुरमा बसिरहेको बताइएको छ ।

भारतको विभिन्न स्थानबाट गोरखपुर हुँदै सुनाैली नाकाबाट नेपाल आएका नेपालीले पनि रायमाझीलाई गोरखपुर बजारमा हिडिरहेको देखेको बताएको प्रहरीको भनाइ छ । प्रहरीले रायमाझी गोरखपुरमा भएको जानकारी पाएर पनि उनलाई पक्राउ गर्न टोली पठाएको छैन् । भैरहवाबाट काठमाडौं आउने तयारी अवस्थामा रहेका रायमाझी एकाएक फरार भएका थिए ।

उनी फरार भएपछि प्रहरीले सो गिरोहको एउटा ठूलो माछो उम्काएको भन्दै देशभर प्रहरी प्रशासनको विरोध भइरहेको छ । प्रहरीले रायमाझी गोरखपुरमा भएको औपचारिक जानकारी पाउँदा समेत सूचना सार्वजनिक गरेको छैन् । एमाले अध्यक्ष ओलीलाई भने प्रहरीले रायमाझीको अवस्थाबारे जानकारी दिइरहेको स्रोतको भनाइ छ । दवावका भरमा प्रहरीले गाेरखपुर भएका उनलाई पक्राउ गर्न टोली खटाउनुको साटो उल्टै ७७ वटै जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि पत्रचार गरेर बसेको छ ।

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विरुद्धको मुद्धालाई संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको हदम्याद ६० दिनको हुने भएकाले मुद्धा अदालतमा नपुगेसम्म रायमाझी भारतै राख्ने प्रपञ्च गरेको छ । प्रहरीकै सहयोग उनी गोरखपुरमा बसेको र नेपाल नआउने बुभिएको छ । एमालेको केन्द्रीय कमिटीको बैठक २८–३० वैशाखमा बस्ने तयारी छ । त्यो बैठकमा उनी नआउने कुरा पनि नेपाल प्रहरीकै अधिकारीहरुले एमालेलाई जानकारी दिइरहेका छन ।

भारतको गोरखपुरमा घुमिरहेका रायमाझीलाई नेपाल प्रहरीले बुटवल– भैरहवातिर खोजी गरिरहेको छ । उनी एमाले सचिव र सचिवालय सदस्य समेत हुन । एमालेको केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा मंगलबार सचिवालय बैठक मंगलबार बस्दैछ । यही वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कमिटीको पाँचौं बैठक पनि काठमाडौंमै बस्दैछ ।