माधवका सांसद भड्काउन ओलीको गुप्त टोली परिचालन
काठमाडौं – फेरि एकपटक एकीकृत समाजवादीका सांसद भड्काउन एमालेले आफ्ना सबै संयन्त्र परिचालन गरेको देखिएको छ ।
सोमबार साँझदेखि नै यसको हल्ला सुरु भइसकेको छ ।
मंगलबार बिहानसम्म एकीकृत समाजवादीका १० मध्ये आठ सांसद एमाले प्रवेश गर्ने सम्भावना रहेको भन्दै प्रचार सुरु भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बलियो बन्न नदिन एमाले अध्यक्ष केपी ओलीले चलखेल सुरु गरिसकेका छन् ।
पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरिशंकर चौधरीलाई एमाले प्रवेश गराए पनि कुनै उपलब्धि हासिल नभएको बरु उनीहरू नै विभिन्न काण्डमा मुछिएपछि बचाउनुपर्ने अवस्था आएकाले ओलीले माधव नेपालका सांसद एमाले प्रवेश गराउने रणनीति बनाएका हुन् ।
पछिल्लो समय एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग एमाले नेतृत्वले पटकपटक संवाद गरिसकेको छ । खनाल माधवसँग सन्तुष्ट हुन सकेका छैनन् ।
त्यसमाथि मन्त्री बन्न नपाएका राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, प्रेमबहादुर आलेलगायत पनि अहिले एकीकृत समाजवादीमा त्यति सन्तुष्ट छैनन् ।
एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको त ६ महिनायता माधव नेपालसँग संवादहीनताको अवस्था रहेको बुझिएको छ ।
यिनै मतभेदको फाइदा उठाउने तयारीमा एमाले नेतृत्व रहेको बुझिएको छ ।
स्रोतका अनुसार एमालेका लिवरल नेताहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरू अहिले एकीकृत समाजवादीका सांसद भड्काउने प्रयासमा गुप्त ढंगले परिचालन भएका छन् ।
यदि एमालेका आठ सांसदलाई भित्र्याउन सकिएमा कांग्रेसको हाराहारी आफ्नो सिट पुग्ने एमालेको आकलन छ ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कमजोर बनाउन र उनलाई पूरा कार्यकाल प्रधानमन्त्री खान नदिन एमाले नेतृत्वले चलखेल सुरु गरिसकेको छ ।
स्रोतका अनुसार आगामी ६ महिनाभित्र एउटा रिजल्ट ल्याउने गरी काम अघि बढाइएको छ ।

