कस्तो प्रणाली अँगाल्ने भनेर सोच्ने वेला आएको छ : ज्ञानेन्द्र शाह

231 Shares

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले कुन प्रणाली र पद्धति अँगाल्ने भनेर सोच्ने वेला आएको धारणा व्यक्त गरेका छन्। धनगढीमा सोमबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘आजको युग विकासको युग हो। प्रविधिको युग हो। हामी आफ्नै स्रोत, साधन, आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा युगानुकूल उन्नति चाहन्छौँ। त्यसैले सोच्ने वेला आएको छ– अब कुन, के–कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अँगाल्ने ?’ शाहले भने, ‘नेपाली भएर, नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौँ। देशभन्दा ठूलो केही हुँदैन।’

देशको अहिलेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले सुन्दर नेपाल बनाउने जिम्मा नेपाली जनतालाई नै दिनुपर्ने बताए। दलहरूलाई लक्षित गर्दै उनले सोझासाझा जनता झुक्याएर आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च अब खुल्दै गएको दाबी गरे। पूर्वराजा शाहले नेपाली जनतालाई शरणार्थी बनाउने, अर्काको देशमा श्रम, पसिना बगाउन लगाउने कार्यले देशको इज्जत र गौरव लोप भएको बताए।

अहिलेको अवस्थालाई नबुझेजस्तो गर्ने, अरूलाई अलमल्याउने र निषेध गर्ने प्रवृत्ति नेपालको हितमा नरहेको उनको भनाइ थियो। शाहले सुन्दर नेपाल बनाउने जिम्मा नेपालीलाई नै दिनुपर्ने धारणा राखे। ‘आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेजस्तो गरेर, कुरा बटारेर, अरूलाई अलमलाएर र निषेध गरेर, अनि कोठे र ओठेजवाफ फर्काएर नेपाल र नेपालीको अभीष्ट सप्रिँदैन,’ उनले भने, ‘भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावनाअनुसार नेपाली जनतालाई नै जिम्मा दिऔँ।’ उनको यो अभिव्यक्तिलाई जनमतसंग्रह हुनुपर्ने धारणाका रूपमा अर्थ्याइएको छ।