आयरल्यान्डका राष्ट्रपतिसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेस
लन्डन, । बेलायतका साथै आयरल्यान्डका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
डब्लिनस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र पेस गरेको दूतावासले जनाएको छ । ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपतिले राजदूत आचार्यलाई आयरल्यान्डका लागि नेपालको राजदूतमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।
साथै दुई देशबीचको विद्यमान मित्रताको सम्बन्ध निरन्तरता र थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उक्त समारोहमा राजदूत आचार्य र आयरल्यान्डका राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । राजदूत आचार्यले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट राष्ट्रपतिको सन्देश सुनाएका थिए ।

