कांग्रेस जागरणको अभियानमा आरणु राणा

228 Shares

काठमाडौं । नेपाली कांग्रेसमा अहिले महामन्त्री गगनकुमार थापा सार्वजनिक खपतका लागि जे पनि बोल्ने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गर्दै हिँडेका छन् । ग्रेटर नेपाल नक्सा राख्नेदेखि नेतृत्व बदल्ने कुरा गरेर सस्तो चर्चा बटुल्न लागिरहेका छन् ।

गगनले गौरवशाली कांग्रेसको धैर्यताको इतिहासलाई धारे हात लगाउँदै जसरी हुन्छ नेतृत्वमा पुग्ने महत्वाकांक्षा बोकेर हिँडेका छन् । सबैले विश्वास गरेको, सम्भावना बोकेको युवा महामन्त्री खहरेको भेलजस्तो आत्तिएर पार्टीविरुद्ध वितृष्णा फैलाउने अभियानमा लागिरहेका बेला केन्द्रीय सदस्य आरजु राणा देउवा भने जागरणको अभियानमा छिन् ।

पुरुष प्रधान राजनीतिमा लैंगिक विभेद भोग्नुपरे पनि आरजु विचलित नभई पार्टी गतिविधि बढाउने, कार्यकर्ता मनोबल बढाउने, हौसला दिन अग्रसर भएर हिँडेकी छन् । सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैलाई मिलाएर अघि बढ्न खोजिरहेका बेला आरजुले पनि एकता नै कायम हुनेगरी नेता कार्यकर्तालाई जागरुक गराउन नियमित रुपमा कार्यकर्तामाझ पुगिरहन्छिन् ।

गगनहरु आफ्नो पद नपाएको आक्रोश र काम गर्न नसकेको असफलता छोप्न योजनाबद्ध रुपमा कार्यकर्तामाझ गएर वितृष्णा फैलाइरहेका बेला आरजु भने संगठनलाई जागरुक गराइराख्न देशव्यापी रुपमा कार्यकर्तामा पुगिरहेकी छन् । नेता कार्यकर्तामाझ सामाजिक गतिविधिमा संलग्न भएर मनोबल बढाउने, संगठन चलायमान बनाउने, निराशामा हौसला प्रदान गर्ने काम गरिरहेकी छन् ।

पार्टीमा सबैले मान्ने नेताका रुपमा उदाएका शेखर कोइरालाले समेत सभापति देउवालाई साथ दिएर पार्टी एकढिक्का बनाउन उत्प्रेरित भइरहेका बेला गगन भने पार्टीभित्र गुट खडा गर्न प्रयास गरिरहेका छन् । देउवाले गुट बाँकी नराख्न सबैलाई मिलाउन खोजेका बेला नेतृत्व हत्याउने महत्वाकांक्षाका साथ गुट बनाउने अभियानमा गगन लागेका बेला त्यसलाई मत्थर पार्न आरजु जागरण अभियानसहित कार्यकर्तामाझ छिन् ।

आरजुले नेता कार्यकर्तासँग नीति निर्माण, विकास निर्माण, स्थानीय समस्यामा सहजीकरण, बजेट वितरणजस्ता विषयमा छलफल गर्ने गरेकी छन् । हालैमात्रै कांग्रेसका महिला सांसदहरुलाई आगामी बजेटमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएकी छन् । सदनमा परिपक्व विचार राख्ने आधार उनले बनाउन खोजेकी छन् ।

त्यस्तै, काठमाडौँसहित देशभरका कांग्रेसका साथीहरु तथा शुभेच्छुकहरुसंग भेटघाट तथा छलफल गर्ने गरेकी छन् । विकास निर्माण अनुदानमा दातृ निकायसँग सहजीकरण गरिदिने काम पनि आरजुले गर्ने गरेकी छन् । सामाजिक कार्यक्रममा पनि सक्रिय सहभागिता जनाएर युवा पुस्तालाई उत्प्रेरित गर्ने काममा पनि आरजु सहभागी छिन् । जसले गर्दा पार्टीमा निराशाबीच आशा र जागरुकता प्रवाह गर्ने काम गरेको नेता कार्यकर्ता बताउँछन् ।