सुन तस्करी काण्डमा अमरेश सिंहको यस्तो छ कनेक्सन, मल्होत्रा-सिंह व्यवसायिक साझेदार

259 Shares

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको पनि कनेक्सन भेटिएको छ । सांसद सिंह व्यापारी दिपक मल्होत्रा व्यवसायिक साझेदार हुन् ।

मल्होत्राले सिंह आफ्नो साझेदार रहेकौ सार्वजनिक रूपमै बताउँदै आएका थिए । राजस्व अनुसन्धान विभागले हिजो त्रिभुवन विमानस्थलबाट एक क्विन्टल तस्करी हुन लागेको सुन बरामद गरेको थियो । तस्करी हुन लागेको सुन मल्होत्राको भएको अनुसन्धान अधिकारीले पत्ता लगाएका छन् ।

सुन मल्होत्राको भएको तथ्य बाहिर आएपछि यसमा सांसद अमरेश सिंह पनि जोडिएका हुन् । दिपक मल्होत्राको नाम मुछिएपछि आफू फस्ने डरले सांसद सिंह मध्यराति नै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा पुगेका थिए । आफु पनि तानिने अवस्था आउने भएपछि सिंहले बिहानैदेखि पुनः बालुवाटारलगायत विभिन्न शक्ति केन्द्र पुगेर मुद्दा सामसुम पार्न हारगुहार गरेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग राम्रो सम्बन्ध रहेकाले आफू र दिपकलाई केही नहुनेमा अमरेश आशावादी थिए । तर उक्त सुन प्रधानमन्त्रीकै निर्देशनमा मातहतको राजस्व विभागले समातेकाले प्रचण्डले यस विषयमा केही गर्न नसकिने र निष्पक्ष अनुसन्धान जवाफ दिएपछि अमरेश तनावमा छन् ।

उनले आफू नफस्न देशीविदेशी शक्ति परिचालन गरेर प्रधानमन्त्रीमाथि दबाब बढाइरहेका छन् ।