बुद्धको मूर्तिअघि अशान्ति: मणिपालमा भएको के हो ?

265 Shares

पोखराको मणिपाल शिक्षण अस्पतालको पहिलो तलामा रहेको काउन्टरअगाडि भगवान् गौतमबुद्धको मूर्ति छ । शान्तिका अग्रदूत मानिने तिनै बुद्धको मूर्तिअगाडि सोमबार अशान्ति र अशोभनीय गतिविधि देखियो । तोडफोडदेखि अपशब्दसम्म प्रयोग भए ।
चिकित्सक र उपचारको क्रममा मृत्यु भएका बिरामीका आफन्तबीचको लफडाले सोमबार अस्पतालको पहिलो र दोस्रो तला तनावग्रस्त रह्यो । त्यही घटनाले मंगलबार अस्पताल सुनसान थियो । सोमबारको घटनापछि डाक्टरहरूले सेवा बन्द गर्दा मणिपाल मात्र होइन, पोखराका निजी अस्पतालका डाक्टरहरूले ओपीडी सेवा बन्द गरे । इमर्जेन्सीमा काम गरेकाहरू कालो पट्टी बाँधेर उपचारमा खटिए ।

काठमाडौंको माइतीघरमा मंगलबार डाक्टरहरूले पोखरासहित ठाउँठाउँका घटनाको विषयलाई लिएर विरोध प्रदर्शन गरे । पटकपटक कुटपिटका घटना दोहोरिँदा डाक्टरहरूले सुरक्षा थ्रेट महसुस गरेका छन् ।

मणिपालमा भएको के हो ?

लमजुङ सुन्दरबजार नगरपालिका-६ कि ५७ वर्षीय सुकमाया दुराको श्वासप्रश्वासमा समस्या भएको र ढाड दुखेको भन्दै मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो । छोराबुहारीले उनलाई लमजुङबाट गत आइतबार दिउँसो ४ बजेतिर मणिपाल ल्याएका थिए ।

इमर्जेन्सीमा राखेपछि उनलाई आईसीयूमा राखेर उपचार थालियो । उपचारकै क्रममा दुराको सोमबार दिउँसो १ बजे मृत्यु भयो । उपचार सुरु गर्दा पनि रोगबारे थाहा नदिएको र एक्कासि मृत्यु भएको सूचना दिएपछि विवाद सुरु भएको हो ।

औषधि दिएपछि मृत्यु भएकाले के रोग लागेको हो ? किन पाइप जोडेको हो भनेर सोध्दा र डाक्टरले स्पष्ट र नम्र भएर जवाफ नदिँदा अस्पतालका डाक्टर र मृतकका आफन्तबीच भनाभन भयो ।

त्यत्तिकैमा मृतकका छोराले डा. अनिल शाहलाई झापड हानेका थिए । त्यसपछि डा. शाहले आफ्ना सहपाठी र सहकर्मीलाई बोलाए । डाक्टरमाथि हातपात गरेको भन्दै इन्टर्न (डाक्टरी पढ्दै, काम गर्दै गरेका) गरिरहेकाहरू आन्दोलित बने ।

सुरुमा डाक्टरहरूले नै अस्पतालको प्रवेश द्वारको ढोकाको सिसा फुटाएका थिए । उल्टै लापरबाही गर्ने अनि आन्दोलन गर्ने भन्दै मृतकका छोरा पनि आक्रोशित बने । त्यसपछि उनले पोखरामा रहेका आफ्ना आफन्तलाई बोलाए । मृतक पक्षले अस्पतालमा नाराबाजीसहित तोडफोड सुरु गरे ।

अस्पतालमा कांग्रेसनिक्ट नेविसंघ र तरुण दलमा आवद्ध युवाहरू मृतकको तर्फबाट आन्दोलन गर्न पुगेका थिए । दिउँसो २ बजेदेखि सुरु भएको नाराबाजी र आन्दोलन राति ९ बजेसम्म चलेको थियो । चिकित्सकहरूले अस्पतालको दोस्रो तलामा रहेको क्याफेबाट तल्लो तलामा रहेका मृतकका आफन्तविरुद्ध नाराबाजी र आक्रमण गरेका थिए ।

चिकित्सकले सिरिन्ज, स्लाइन बोतलले आक्रमण गरेका थिए । इन्टर्न गरिरहेकाहरू सामूहिक रूपमा उत्रँदा घटनाले झनै उग्र रूप लिएको हो । बिरामीका आफन्तले अस्पतालको काउन्टर भएको पहिलो तलामा राखिएको बुद्धको मूर्तिको साङ्लो (बार) नै भत्काएका छन् ।

त्यो ठाउँ घटनाको बखत मृतक पक्षले जस्तो बनाएक थिए मंगलबार दिउँसो ४ बजे अस्पताल पुग्दासम्म त्यस्तै थियो । चिकित्सकहरू उग्र बनेपछि प्रहरीले उनीहरूलाई एउटा कोठामा राखेको थियो । पछि लाठीचार्ज पनि गर्‍यो ।

घटना साम्य पार्न खटाइएका इन्स्पेक्टरले झनै भीडलाई उग्र बनाएको देखिएको छ । इन्स्पेक्टर मदन श्रेष्ठले मृतकको तर्फबाट प्रदर्शन गर्न पुगेकालाई- डाक्टरलाई साफ चुटेर आएको छु, रगतै-रगत बनाको छु भनेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनले यसो भनेपछि बिरामीका आफन्तले ताली बजाएका थिए । इन्स्पेक्टरको अभिव्यक्ति सुनेपछि डाक्टरहरू रुष्ट छन् । सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।

चिकित्सकको लापरबाही हो कि भनेर आशंका लागेर सोधपुछ गर्दा र छानबिन माग गर्दा उल्टै चिकित्सकहरूले आन्दोलन गरेको मृतकका आफन्त रविन लामाले दाबी गरे ।

‘कुरुवालाई बिरामीको अवस्था कस्तो छ भनेर भनिएन । सिधै मान्छे मरेपछि भनियो । अनि के-कसरी भयो भनेर हामीले सोध्न पाउनु हाम्रो अधिकार हो नि,’ उनी रेसिडेन्ट डाक्टरमाथि खनिए, ‘उहाँहरू पढ्न आउनुभएको हो कि ? राजनीति गर्न आउनुभएको हो कि गुण्डागर्दी गर्न आउनुभएको हो कि !’

अस्पतालमा उपचार सुरु गर्दा पनि समस्या के हो भनेर नभनिदिएको र सल्लाह नगरेको आफन्तको गुनासो छ ।

सुकमायाको प्रेसर घटेर मुटुले काम गर्न छोडेको अस्पतालले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । अवस्था गम्भीर हुँदाहुँदै बचाउने प्रयासस्वरूप उपचार गरे पनि दुराको मृत्यु भएको र चिकित्सकको कमजोरी नरहेको अस्पतालको दाबी छ ।

मृतकको परिवार र आफन्तले चिकित्सकले औषधि दिएपछि मृत्यु भएकाले लापरबाही भएको दाबी गरेका छन् । चिकित्सकले गलत औषधि चलाउँदा बिरामीको मृत्यु भएको परिवार र आफन्तको आशंका छ ।

प्रहरीले चिकित्सकविरुद्ध नाराबाजी गर्ने र कुटपिटमा संलग्न पोखरा-५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गरेको छ । उनीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीक सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए । यो मुद्दा अनुसन्धानपछि अदालतमा जाने उनले जानकारी दिए ।

होहल्ला गरेको भनेर प्रहरीले फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार विकलाई नियन्त्रणमा लिएको थियो । उनलाई मंगलबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहबरमा र डा. गिरधारी शर्माको जिम्मामा छोडिएको छ ।

मृतक दुराको शव अस्पतालमा नै छ । दुवै पक्षबीच सहमति नजुट्दा उनको शव अस्पतालबाट निकालिएको छैन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको रोहबरमा मंगलबार मृतकका आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच वार्ता भएको थियो । अस्पतालको सेवालाई निरन्तरता दिने र छानबिन गर्नुपर्ने देखिए गर्ने सहमति जुटेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । थप छलफल र वार्ताको वातावरण बनाउने जिम्मा कास्की प्रहरीलाई दिइएको छ । जिल्ला प्रशासनले अस्पताल प्रशासन र मृतकका आफन्तलाई नै छलफलमा जुट्न भनेको छ ।