गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको ईश्वर पोखरेलको आरोप

267 Shares

काठमाडौंः नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन् ।

काठमाडौँमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए ।

उनले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।