गंगाको नाम जोडेर अमरेशले गम्भीर प्रश्न उठएपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो- स्वार्थ पूरा नभएपछिको दुस्प्रचार

308 Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आफ्नो स्वार्थ पूरा भएपछि सांसद अमरेश कुमार सिंह प्रचण्ड, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचारमा लागेको जनाएको छ ।

‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन् । उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ,’ सचिवालयले भनेको छ ।

सांसद सिंहले आज बिहान फेसबुक स्टाटस लेख्दै प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले व्यापारीसँग लिएको घुसको प्रमाण आफूसँग सुरक्षित रहेको बताउँदै सार्वजनिक गरिदिने चेतावनी दिएका थिए ।

प्रचण्डको सचिवालयले भने सांसद सिंहले लगाएको आरोप निन्दनीय रहेको भन्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको ध्यानाकर्षण गराएको छ । सिंहको गतिविधि कानुनी राज्यमाथि नै चुनौती दिने प्रतिकृति भएको टिप्पणी गरेको छ ।

‘सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णत: झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ,’ सचिवालयले भनेको छ ।

साथै विभिन्न व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि दुस्प्रचार गर्ने गरेको पनि सचिवालयको आरोप छ । ‘यस सन्दर्भमा विगत केही समयदेखि अराजनीतिक व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि श्रृंखलाबद्ध दुस्प्रचार गर्ने गरेको कुरा पनि स्पष्ट गर्न चाहन्छौँ,’ सचिवालयले भनेको छ ।