कर्णालीमा ६ बर्षमा बाढी(पहिरोबाट २९२ को मृत्यु, ४४० घाइते, २६ बेपत्ता
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् ।
कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ, ११ जना घाइते भएका छन् । अछाम जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
छिमेकी जिल्ला अछाममा यो घटना हुँदा कर्णाली त्रसित बनेको छ । अछाम र कर्णाली प्रदेशका जिल्लाको भूभाग एकैनासको छ, मात्र प्रदेश फरक छ । एकै खालको भूगोल, एकै खालका बस्ती र एकै खालका समुदाय रहेको अछाम जिल्लाको पीडाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतलाई पनि गिजोलेको छ । सुर्खेत पनि अछामको पीडामा छटपटाइरहेको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा बाढी पहिरोले वितण्डा मच्चायो । कालिकोटमा डेढ दर्जन जति नागरिकले ज्यान गुमाउँदा सयौँ नागरिक बेघरबार भए । कर्णालीका अधिकांश जिल्लाका नागरिक अहिले पहिरोको त्रासमा जीवन जिउन बाध्य छन् । जाजरकोटमा आएको पहिरोमा परेका नागरिकले अझै ढुक्कसँग घर बनाउन सकेका छैनन् ।
उनीहरुको बसाइ व्यवस्थापन भइसकेको छैन भने रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन वर्षअघि आएको पहिरोले पुर्याएको क्षतिको भरणपोषण अझै हुन सकेको छैन । दैलेखको ठाँटीकाँध गाउँपालिकाको गैरगाउँ निवासी पहिरो पीडितको अवस्था उही छ । अहिले पनि पहिरो पीडितहरु भारतमै गएर रोजीरोटी कमाउन बाध्य छन् ।
यी माथिका उदाहरण मात्रै हुन् । कर्णालीमा बाढी र पहिरो मात्रै जोखिम होइन, त्योभन्दा ठूलो जोखिम आगलागी र भूकम्प हुनेछ, कर्णालीमा । कर्णाली प्रदेशका अधिकांश घरहरु कच्ची छन्, कतिपय घरहरु खरले छाएका छन् । कर्णालीमा ठूलो भूकम्प आएको खण्डमा नेपालले नै सम्हाल्न नसक्ने खालको क्षति हुने यहाँका नागरिकहरु बताउँछन् ।
छरिएर रहेका बस्ती, खोला नालाका छेउछाउमा बनेका कच्ची घरले निकै जोखिम बढाइरहेको छ । पहिरोको उच्च जोखिममा रहेको कर्णालीको ५७ प्रतिशत जमिन भिरालो छ । सन् २०११ देखि २०२० सम्मको तथ्याङ्क हेर्ने हो भने झण्डै १० अर्ब ९४ करोड १७ लाख आर्थिक क्षति भएको छ । कणरलीका १० जिल्लाको २२० स्थानमा पहिरो गएको छ ।
प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा २०७३ देखि २०७९ असारसम्म दुई सय ९२ जनाको ज्यान गएको छ । चार सय ४० जना घाइते भए भने २६ जना बेपत्ता छन् । विस्थापित दुई हजार एक सय १६, पशु चौपाया दुई हजार दुई ८२ पहिरोमा परेका थिए । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै सडक निर्माण हुँदा सबै पहाडी गाउँ पहिरोको जोखिममा परेका छन् ।
धेरैजसो पहिरो भीर कटान, अव्यवस्थित ढुङ्गा-माटो विसर्जन र कमजोर भीर क्षेत्रमा भल तर्काउने जस्ता क्रियाकलापले हुने भएकाले ध्यान दिन आवश्यक देखिन्छ । धेरै जस्तो पहिरो ग्रामीण सडक, नयाँ सडक, बस्ती विस्तारको क्रममा गएको देखिन्छ । कर्णालीमा भिरालो जमिनमाथि जथाभावी सडक खन्दा पहिरोको उच्च जोखिम बढेको छ ।
कर्णालीमा भिरालो भूभाग धेरै छ । कणरलीमा भिरालो भूमिमा स्थिरभन्दा पनि अस्थिर तरिकाले गरिएको विकासले झनै विनाश भएको छ । कमलो र भिरालो जमिनमा धेरै क्षति भएको देखिन्छ । विकासका गतिविधिहरू वातावरणमैत्री नभएकाले विपद्का यस्ता घटना पटक(पटक दोहोरिने भू तथा जलधार व्यवस्थापन कार्यालयका प्रमुख शेरबहादुर श्रेष्ठले बताए ।
कणरलीका ३३ प्रतिशत नागरिक जोखिमयुक्त बस्तीमा बस्ने गरेको तथ्याङ्क छ । उनका अनुसार बढ्दो सहरीकरणले गर्दा पनि छिटो विकासको हुटहुटीले विनाश भएको छ । सरकारले विपद् प्रतिकार्य हरेक वर्ष पूर्वयोजना गराए पनि कार्यान्वयन फितलो हुँदा हरेक वर्ष बाढीपहिरोमा परी नागरिकहरूले ज्यान गुमाउँदै आएको कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठले बताए ।
प्राकृतिक विपद् बीमाले राहत
कणरली सरकारले बितेको पाँच वर्षमा कर्णालीका सबै नागरिकको प्राकृतिक विपद् बीमा गरेको छ । बीमाका कारण कणरलीका नागरिक बाढीपहिरो, आगलागी जस्ता प्राकृतिक विपद्मा परेर ज्यान गुमाएमा दुई लाख रुपैयाँ प्रदेश सरकारले गरेको बीमाबाट प्राप्त गर्छन् ।
सरकारले दुई लाख दिने हुँदा यसले पीडित परिवारलाई राहत दिएको छ । राष्ट्रिय बीमा कम्पनी सुर्खेत शाखा प्रमुख शिवराज विसीका अनुसार प्रदेश सरकारसँग विपद् वीमा भएसँगै आर्थिक वर्ष २०७७/०७८ मा ५९ जनाले रु दुई लाखको दरले बीमा क्षतिपूर्ति पाएका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ४४ जनाले क्षतिपूर्ति पाइसकेका छन् । उक्त आर्थिक वर्षमा तीन जनाले पाउन बाँकी छ भने चालु आर्थिक वर्षमा हालसम्म आठ जनाको दाबी भुक्तानी परेको छ ।
विपद् बीमा कार्यक्रमका योजनाकार तथा अवधारणाकार सुकल्याण पराजुलीले कणरलीमा दुई लाख घर बाढी पहिरोको उच्च जोखिममा रहेको बताउँछन् । खोला खोल्सा, नदी किनारमा रहेका घरहरु उच्च जोखिममा छन् । ‘सरकारले ती घरहरुको पनि बीमा गर्न आवश्यक छ । कर्णालीमा जुनसुकै समयमा अछाममा घटेको जस्तो घटना घट्न सक्ने अनुसन्धानले देखाएको छ’, बीमा विज्ञसमेत रहेका पराजुलीले भने, ‘ कर्णाली प्रदेश सरकारले सुरुमा दश हजार घरको बीमा गर्ने भने पनि पछि गरेन ।’
उनका अनुसार प्रतिवर्ष एक घरको बीमा गर्दा रु पाँच सय लाग्छ । यसमा मूल्य अभिवृद्धि कर जोड्दा रु ५६५ हुन्छ । उनले ११ करोड ३० लाख भएको खण्डमा उच्च जोखिममा रहेका कर्णालीका दुई लाख घरहरुको बीमा गर्न सकिने बताए । पाँच वर्षसम्म निरन्तर प्रदेश सरकारले दुई लाख घरको बीमा गर्न सके त्यसबाट राज्यलाई नै फाइदा हुने उनको भनाइ छ ।
उनका अनुसार यो बीमा गरे खरको छाना भएको घरले पाँच लाख तथा ढलान भएको वा अलि राम्रो घर भत्किएको खण्डमा दश लाखसम्म क्षतिपूर्ति बीमा कम्पनीले बेहोर्न सक्छ । उनले भने, ‘प्रदेश सरकारका लागि यो रकम खासै ठूलो रकम होइन । यो कार्यक्रमले तत्काल जनताले सहायता पनि पाउने र त्यसबाट कर्णाली सरकारको पहुँच हरेक घरमा पुग्ने देखिन्छ ।’
पराजुलीले यसका लागि कर्णाली प्रदेश सरकारले बीमा विज्ञ नियुक्त गर्ने काम पनि गर्नुपर्ने सुझाव दिए । ‘बीमा विज्ञ नियुक्त गरेको खण्डमा उसैले प्रदेशभरि कहाँ के भयो भन्नेदेखि कसरी अघि बढ्ने भन्ने कुरासम्मको काम गर्न सक्छ’, पराजुली भने, ‘त्यसका लागि सरकारले बीमा विज्ञ नियुक्त गर्न आवश्यक छ ।’

