लाभांश घोषणापछि नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको इकाई कारोबार किन रोकियो ?
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को इकाई कारोबार रोक्का गरेको छ । यी दुवै फन्डको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले लाभांश सम्बन्धी निर्णयको जानकारी गराउन विलम्ब गरेपछि कारोबार रोक्का गरिएको नेप्सेको भनाई छ । नियमअनुसार मूल्य सम्वेदनशील सूचना तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ ।
तर नबिलले भने मंगलबार बिहान १० बजे लाभांश सम्बन्धी निर्णय गरेपनि नेप्सेलाई भने बुधबार मात्र जानकारी गराएको थियो । नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल इक्विटी फन्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश (प्रतिफल) दिने निर्णय गरेको हो । यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई पनि करसहित ७% नगद दिने निर्णय भएको क्यापिटलले जानकारी गराएको छ ।

