बाँकी कैद राष्ट्रपतिले माफी गरेपछि छुटे रिगल
हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका रिगल भनेर चिनिने योग ढकाल राष्ट्रपति रामचन्द्र पौडेलले बाँकै कैद सजाय माफी गरेपछि छुटेका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार ६७० जनाको सजाय माफी मिनाह गरेका थिए । राष्ट्रपतिले बुधबार माफी दिएका मध्ये एक रिगल पनि हुन् ।
रिगल जेलमुक्त भएपछि उनका समर्थकले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पुर्याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । घोराहीका जेलरले रिगलले पचास प्रतिशत सजाय भुक्तान गरेको जानकारी दिए ।
रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलको समूहले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुडा प्रहार गरेको थियो । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए । सो समूहका ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
रिगलले घटनाको एक वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।

