गोरु काटेर भोज खुवाएको आरोपमा एकजना युवक पक्राउ
काठमाडौं । गोरु काटेर भोज खुवाएको आरोपमा खोटाङ प्रहरीले एकजना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ रहेका छन् ।
उनमाथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खुवाएको आरोप छ । आरोपी गुरुङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गुरुङ मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकर्ता भएको बताइएको छ ।
संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ । हिन्दू धर्मवालम्बीहरुले गाईलाई माता मान्दछन् । गाई र गोरु मार्न निषेध गरिएको छ । मारेमा जेल सजाय हुने व्यवस्था छ । यसअघि धरानमा गोरु काटेर सामूहिक भोज गरेपछि जातीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको सुरक्षा निकायको निष्कर्ष थियो ।
संभावित द्वन्द्व रोक्न धरानमा केही दिनसम्म निषेधाज्ञा नै जारी भएको थियो । उक्त घटनामा क्रिश्चियन धर्म मान्नेहरुको संलग्नता रहेको आरोप लगाइएको थियो । गोरु काटेर भोज खाएको भिडियो सामाजिक संजालमा समेत राखिएको थियो ।

