गोपाल किरातीसहितका नेता कार्यकर्ता पक्राउ

385 Shares

खोटाङ । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी नाम खारेजीको लागि सडकमा उत्रिएका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत खोटाङ र भोजपुर जिल्लाबाट दर्जन बढीलाई प्रहरीले आज विहान पक्राउ गरेको हाे । गोपाल किराती देशभक्त समाजवादी मोर्चाको संयोजक तथा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिको नेता हुन ।

हलेसीबाट आज विहानै राजेश राईलाई पक्राउ गरेको थियो । राजेश राई जसपा नेपालको खोटाङ जिल्ला सचिवालय सदस्य तथा पहिचानको लागि युवाको हलेसी तुवाचुङ नगर समितिको सह संयोजक हुन् । हलेसीबाट गन्धमान राई, बिजय राईसमेत पक्राउ परेका छन । आज विहानै किरात राई यायोक्खा भोजपुर जिल्ला कार्यबाहक अध्यक्ष बिदुर राईलाई घरैबाट र जसपा प्रदेश समिति सदस्य मिना राईको साथै जसपा सम्बद्ध कार्यकर्ताहरु निदेश राई, पावना राईलाई सडकबाट गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जनक राईले बताए ।

कोशी नाम खारेजी र ८२प्लस तीन जनाको विरोधमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले आज (मंसीर २६) गतेदेखि उदयुर, ओखलढुङ्गाको सीमाना घुर्मीदेखि भोजपुर धनकुटाको सीमाना लेगुवासम्म मध्ये पहाडी मार्ग आनिश्चितकालीन बन्दको घोषणा गरेको थियो ।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर लागेको छ । अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर आइपुग्ने एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।