मनाइयाे इन्द्रजात्रा
काठमाडौ: काठमाडौँ उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ ।
विशेष गरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् ।
विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिन्चा आदिले पनि तिनै देवदेवताको रथसँगै सहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्र ध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

