चुनाव प्रचार आजदेखि, देउवा र ओलीलाई हेलिकोप्टर प्रयोगको अनुमति
काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।
चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा गएका छन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले देउवालाई चुनाव प्रचारको अनुमति दिइसकेको छ ।
कांग्रेस सभापतिसमेत रहेका देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् ।
निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ ।

